काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले आफ्ना कारणले बजेट प्रक्रियामा अवरोध नआउनुपर्ने स्पष्ट पारेका छन्।
आइतबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गुरागाईंले मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल र अन्य जनप्रतिनिधिको निर्णय कार्यान्वयनमा आफू बाधक बन्न नचाहेको दोहोर्याए। “म त सधैं भन्छु, बजेट आउनैपर्छ, म कुनै अवरोध बन्ने पक्षमा छैन,” उनले भने।
उनले काठमाडौँ टावरको विषयलाई बजेटसँग जोडेर अनावश्यक विवाद सिर्जना गर्ने प्रयास गलत भएको जिकिर गरे। “काठमाडौँ टावरसम्बन्धी विषयमा आवश्यक निर्णय पहिले नै भइसकेको हो, म त त्यसको प्रमाणपत्र दिने जिम्मेवारीमै थिएँ,” गुरागाईंले प्रष्ट पारे।
उनले आफूमाथि पटक–पटक भ्रष्टाचारको आरोप लगाइनु आश्चर्यजनक रहेको भन्दै भने, “कसैले ‘तँ भ्रष्टाचारी हो’ भनेको मात्रले कोही भ्रष्टाचारी हुँदैन। मैले विगतमा पनि यी आरोपको खण्डन गरिसकेको छु, तर किन बारम्बार निशानामा पारिन्छु, बुझ्न सकिरहेको छैन।”
हाल मेयर र प्रमुख प्रशासकीय अधिकृतबीच देखिएको अविश्वासका कारण बजेट प्रक्रियामा ढिलाइ भइरहेका बेला गुरागाईंले आफूमाथि उठेका आरोप र बजेट अवरोधबारे प्रस्ट पार्दै यस्तो प्रतिक्रिया दिएका हुन्।
प्रकाशित मिति: २२ असार २०८२, आइतबार













प्रतिक्रिया