काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टी हालको अवस्थामा आउँदो २०८४ सालको निर्वाचनका लागि पूर्णरूपमा तयार नभएको स्पष्ट पारेका छन्।

आइतबार ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै साउदले पार्टीको संगठनात्मक कमजोरी, नेतृत्वको निष्क्रियता र गम्भीर तयारीको अभावप्रति गहिरो चिन्ता व्यक्त गरे।

advertisement

“२०८४ सालको निर्वाचन ढोका ढकढक्याइरहेको छ, तर कांग्रेस कुनै कोणबाट तयार देखिँदैन,” साउदले भने, “गैरकांग्रेस मतदातासँगको दूरी बढ्दो छ, जुन हाम्रो मत खुम्चिने संकेत हो।” उनले कांग्रेस वर्तमान राजनीतिक परिदृश्यमा संवेदनशील र निर्णायक भूमिका निर्वाह गर्न असफल भएको उल्लेख गर्दै, पार्टी संगठन झन् कमजोर बन्दै गएको बताए।

“राजनीतिक दलमाथि मात्रै होइन, संविधानमाथि नै आक्रमण भइरहेको छ। यस्तो बेलामा कांग्रेसको भूमिका निर्णायक र स्पष्ट हुनुपर्छ,” उनले जोड दिए। साउदले संगठनका आधार तहमा चरम कमजोरी देखिएको भन्दै आफू प्रतिनिधित्व गर्ने सर्लाही जिल्लाको उदाहरण पेश गरे। “१४औं महाधिवेशनपछि आजसम्म सर्लाहीमा जिल्ला समिति बैठकसमेत बसेको छैन, अधिवेशन अधुरो छ,” उनले गुनासो गरे।

पार्टीभित्रको गुटबन्दी, अनुशासनहीनता र निर्णय प्रक्रियामा देखिएको असमान व्यवहारप्रति असन्तुष्टि जनाउँदै साउदले अनुशासनको नाममा एकपक्षीय कारबाही हुनु नाजायज भएको बताए। “अनुशासन सबैका लागि समान हो, छुट्टाछुट्टै मापदण्डले पार्टीमा निराशा बढाउँछ,” उनले चेतावनी दिए।

उनले संविधान संशोधनसम्बन्धी सात बुँदे सहमतिअनुसार आवश्यक पहल नगरेको भन्दै तत्कालीन दुई तिहाइको केपी ओली नेतृत्वको सरकारलाई पनि आलोचना गरे। “त्यो सहमतिपछि संशोधनको प्रक्रिया अघि बढ्नुपर्ने थियो, तर गम्भीर ढिलाइ भयो,” साउदले स्मरण गराए।

अन्त्यमा, उनले पार्टीलाई समयानुकूल अपडेट गर्न, गुटबन्दी अन्त्य गरी संगठन सुदृढ बनाउनेतर्फ तत्काल ध्यान दिन नेतृत्वलाई आग्रह गरे। “नेताहरू देशभर दौडिरहे पनि संगठन बलियो नबनाएसम्म कांग्रेस सशक्त बन्छ भन्ने भ्रममा नपर्नुहोस्,” उनले स्पष्ट सन्देश दिए।

प्रकाशित मिति: २२ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com