सुर्खेत । कर्णाली कोरिडोर अन्तर्गत हुम्लाको खार्पुनाथस्थित चुवा खोलामा निर्माण गरिएको बेलीब्रिज उद्घाटन गर्न जाने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली खराब मौसमका कारण सुर्खेतमै रोकिएका छन्।
प्रधानमन्त्री ओली आज बिहान साढे ११ बजे सुर्खेत विमानस्थलमा अवतरण गरेका थिए। हुम्ला प्रस्थानको तयारीमा रहेका प्रधानमन्त्रीको टोली मौसम प्रतिकूल हुँदा उडान गर्न नसकी सुर्खेतमै रोकिएको हो।
प्रधानमन्त्रीसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको पनि हुम्ला भ्रमणको कार्यक्रम तय गरिएको थियो। हाल प्रधानमन्त्रीसहितको टोली वीरेन्द्रनगरस्थित नेपाली सेनाको उत्तर पश्चिम मुख्यालय, नेवारेमा विश्राममा रहेको मुख्यमन्त्री कँडेलको सचिवालयले जनाएको छ।
हुम्लाको चुवा खोलामा बनेको बेलीब्रिजको उद्घाटन कार्यक्रम बिहान ११ बजेतिरका लागि तय गरिएको थियो। तर, सुर्खेत–हुम्ला हवाई मार्ग, विशेषगरी कालिकोट क्षेत्रको मौसममा खराबी आउँदा उडान सम्भव नभएको हो।
मौसममा सुधार आएपछि प्रधानमन्त्रीको टोली हुम्ला प्रस्थान गर्ने तयारीमा रहेको जानकारी दिइएको छ।
प्रकाशित मिति: २२ असार २०८२, आइतबार













प्रतिक्रिया