काठमाडाैं । कञ्चनपुरमा गृहमन्त्री रमेश लेखकले महाकाली नदी किनारका बस्तीहरूलाई बाढीको जोखिमबाट जोगाउन नेपाली सेनालाई बाँध निर्माणको जिम्मा दिइएको बताएका छन्।
भीमदत्त नगरपालिका–१२ मा निर्माणाधीन बाँधको आज स्थलगत निरीक्षण गर्दै मन्त्री लेखकले नदी नियन्त्रणका लागि सरकार विशेष प्राथमिकताका साथ अघि बढेको बताए। “बाढीका कारण वर्षौँदेखि पीडित नदी किनारका बासिन्दाका समस्या स्थायी रूपमा समाधान गर्न सेनालाई जिम्मा दिइएको हो,” उनले भने।
गत वर्ष महाकाली नदीको बाढीले दुई सय ६० मिटर बाँध भत्काएपछि नदीको धार बस्तीतर्फ मोडिएको थियो। यसले भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका विभिन्न क्षेत्रलाई उच्च जोखिममा पारेपछि सरकारले सो क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो।
गृहमन्त्री लेखकका अनुसार महाकालीमा बनेको चारलेन पुलसमेत जोखिममा परेको भन्दै तत्काल कदम चालिएको हो। “सरकार अब ढिलासुस्ती होइन, गुणस्तरीय र दिगो समाधानतर्फ अघि बढिरहेको छ,” उनले स्पष्ट पारे।
निर्माणमा संलग्न प्राविधिक टोलीलाई निर्धारित समयमै निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिँदै उनले गत जेठ ६ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार नेपाली सेनालाई एक महिनाभित्र काम सम्पन्न गर्न जिम्मा दिइएको जानकारी गराए।
एजेन्सी
प्रकाशित मिति: २२ असार २०८२, आइतबार













प्रतिक्रिया