काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई पन्छाएर मेयर बालेन शाह कार्यपालिका बैठक बोलाउन लागिरहेकोप्रति असहमति प्रकट गरेकी छन्।

उपमेयर डंगोलले प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिबिना नगर कार्यपालिका र नगरसभाका बैठकहरू गर्न खोजिएको विषय गम्भीर भएको बताउँदै यसले कानुनी जटिलता र कार्यसम्पादनमा अवरोध उत्पन्न गराउने बताएकी छन्।

advertisement

सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले प्रशासकीय प्रमुख सरोज गुरागाईंमाथि कुनै गम्भीर आरोप छ भने कानुनअनुसार छानबिन र कारबाही गर्नुपर्ने स्पष्ट धारणा राखेकी छन्। तर, कानुनी प्रक्रिया नपुर्‍याई बैठकबाट उहाँलाई पन्छाउनु न त औचित्यपूर्ण हुन्छ, न नै लोकतान्त्रिक कार्यप्रणाली सुहाउँदो हुने उनको भनाइ छ।

उनी लेख्छिन्, ‘यदि प्रमुख प्रशासकीय अधिकृत दोषी ठहरिनुहुन्छ भने उहाँलाई कानूनबमोजिम तत्काल कारबाही हुनुपर्छ भन्नेमा म सधैँ अडिग छु । बरु यस मामिलामा जोसुकैबाट कैफियत वा अनियमितता भएको छ भने त्यसको पनि छानबिन तथा अनुसन्धान हुनु पर्दछ भन्ने मान्यता राख्छु । तर, हाल प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिबिना नै कार्यपालिका र नगर सभाका बैठक राख्ने विषयले समस्या उत्पन्न गरेको भन्ने समाचारहरू आएका छन् । कानुनी हिसाबले पनि यो उचित छैन भन्नेमा म अडिग छु ।’

उनी भन्छिन्, “जनप्रतिनिधिका प्रश्नबाट भाग्न खोजिएको हो कि भन्ने आशंका जनतामा उत्पन्न हुन सक्छ। त्यसैले प्रमुख प्रशासकीय अधिकृतले बैठकमै उपस्थित भई प्रत्यक्ष रूपमा उत्तरदायी बन्नुपर्छ।”

डंगोलले नगरको प्रशासनिक नेतृत्वमा देखिएको हालको असमझदारी समाधान गर्न संवाद र कानुनी प्रक्रियामार्फत अघि बढ्न सबै पक्षलाई आग्रह गरेकी छन्। बजेटलगायत महत्त्वपूर्ण काममा बाधा नआओस् भनेर सबैले संयम र जिम्मेवारीपूर्वक व्यवहार गर्नुपर्ने उनको जोड छ।

प्रकाशित मिति: २३ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com