काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे युनेस्कोको विश्व सम्पदा समितिको बैठकमा सहभागी हुन सोमबार फ्रान्सतर्फ प्रस्थान गरेका छन्।

फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने उक्त बैठकमा मन्त्री पाण्डेले लुम्बिनी क्षेत्र अन्तर्गत पर्ने ऐतिहासिक स्थल तिलौराकोट लाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउने औपचारिक प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ।

advertisement

मन्त्री पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति मन्त्रालयका सचिव हरिप्रसाद मैनालीसहित उच्च अधिकारीहरूले विदाई गरेका थिए।

संस्कृति मन्त्रालयका अनुसार तिलौराकोटको विश्व सम्पदामा सूचिकरणका लागि भएको यो पहल ऐतिहासिक मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा नेपालको सांस्कृतिक पहिचान मजबुत बनाउने दिशातर्फको एक महत्वपूर्ण कदम हुने अपेक्षा गरिएको छ।

प्राचीन शाक्य राज्यको राजधानीका रूपमा चिनिने तिलौराकोट बौद्ध धर्म, पुरातत्त्व र इतिहासका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ। स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा लामो समयदेखि यस स्थललाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिनुपर्ने माग हुँदै आएको छ। सोही अनुरूप मन्त्रालयले स्वामित्व ग्रहण गर्दै आवश्यक प्रक्रिया अघि बढाएको हो।

हाल युनेस्कोको वर्ल्ड हेरिटेज कमिटीमा २१ सदस्य राष्ट्र रहेका छन्, जसमा एसियाबाट भारत, कतार, जापान र दक्षिण कोरिया लगायतका देशहरू रहेका छन्। प्रस्ताव पारित गर्न सदस्य राष्ट्रहरूको बहुमत आवश्यक पर्छ।

मन्त्रालयले विश्वास व्यक्त गरेको छ कि मन्त्री पाण्डेको यो भ्रमणले तिलौराकोटको अन्तर्राष्ट्रिय मान्यता दिलाउन निर्णायक भूमिका खेल्नेछ।

प्रकाशित मिति: २३ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com