काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल चीन प्रस्थान गरेका छन्। उनी चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को निमन्त्रणामा ‘विश्व सभ्यता संवाद’ कार्यक्रममा सहभागी हुन गएका हुन्।

खनाल सोमबार चीनको हेनान प्रान्तको भ्रमणमा जाने कार्यक्रमअनुसार बेइजिङ प्रस्थान गरेका हुन्। उनका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार खनालले हेनानमा तीन दिन रहने क्रममा आधुनिक कृषि अनुसन्धान केन्द्र, डिजिटल प्रविधिसम्बन्धी कम्पनी, वैकल्पिक ऊर्जा प्रविधि उत्पादन कारखाना तथा ग्रामीण पुनरुत्थानका नमूना परियोजनाहरूको अवलोकन गर्ने छन्।

advertisement

त्यसक्रममा खनालले सिपिसी हेनान प्रान्तीय कमिटीले आयोजना गर्ने विशेष अन्तरक्रियात्मक कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन पनि गर्नेछन्।

हेनान भ्रमण सकेपछि नेता खनाल यही असार २५ गते बेइजिङ पुग्नेछन्। बेइजिङमा जुलाई १० (असार २५) मा आयोजना हुने ‘मन्त्रिस्तरीय विश्व सभ्यता संवाद’ मा उनी दुईवटा विशेष सत्रमा मुख्य वक्ताको रूपमा सहभागी हुने कार्यक्रम छ।

पहिलो सत्रमा खनालले ‘मानवताका साझा मूल्यहरूको संयुक्त प्रवद्र्धन’ विषयमा सम्बोधन गर्नेछन् भने दोस्रो सत्रमा ‘सभ्यताहरूको आदान–प्रदान, पारस्परिक सिकाइ र प्राज्ञिक संवाद’ शीर्षकको छैठौं उप–मञ्चको उद्घाटन समारोहमा मन्तव्य दिनेछन्।

बेइजिङ बसाइका क्रममा खनालले चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख लिउ जियानचाओसहित उच्च तहका नेताहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। साथै सम्मेलनमा सहभागी विभिन्न मुलुकका पूर्वप्रधानमन्त्री, मन्त्री, विज्ञ तथा प्रतिनिधिहरूसँग पनि भेटघाट हुने उनले बताएका छन्।

खनाल पाँच दिने भ्रमण सकेर यही असार २७ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: २३ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com