काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वीट्जरल्यान्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसले शिष्टाचार भेटवार्ता गरेका छन्।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने र विकासका विभिन्न क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा मन्त्री क्यासिसले नेपालको समग्र विकास, संघीयताको सबलीकरण, संक्रमणकालीन न्याय, जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा स्वीट्जरल्यान्डले निरन्तर सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।
प्रधानमन्त्री ओलीले लामो समय हिंसात्मक र अस्थिर राजनीतिक अवस्थाबाट गुज्रेको नेपालमा हाल दुई प्रमुख दलबीचको सहकार्यमा विकास, सुशासन र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्दै अगाडि बढ्ने प्रयास भइरहेको बताए।
शिष्टाचार भेटका क्रममा नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा. डानियल मेउल्ली, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीलगायतको उपस्थिति थियो।
प्रकाशित मिति: २३ असार २०८२, सोमबार













प्रतिक्रिया