काठमाडाैं । कोशी प्रदेशसभाको बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महाराजधिराज’ भनेर सम्बोधन गरेपछि उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरिएको छ।

आजको प्रदेशसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद गोपाल विश्वकर्माले पूर्वराजालाई ‘श्री ५ महाराजधिराज’ भनेर सम्बोधन गरेका थिए। उनको उक्त अभिव्यक्तिलाई लिएर नेकपा एमालेका प्रमुख सचेतक विदुर लिङ्थेपले आपत्ति जनाउँदै संसद्को अभिलेखबाट हटाउन माग गरे।

सचेतक लिङ्थेपले भने, “नेपालको संविधानले पूर्वराजालाई ‘श्री ५’ भनेर मान्यता दिँदैन। उहाँ केवल ज्ञानेन्द्र शाह हो। संविधानले नचिनेको अभिव्यक्ति अभिलेखबाट हटाइनुपर्छ।”

तर सभामुख अम्बरबहादुर विष्टले संविधानको दायरा नाघ्ने अभिव्यक्ति कायम रहँदैन भन्दै तर ‘बोल्नै नपाइने भन्ने छैन’ भन्ने स्पष्ट पारे। उनले भने, “संविधानमा जे उल्लेख छ, त्यहीअनुसार अगाडि बढ्ने हो। माननीयको भनाइप्रति ध्यानाकर्षण भएको छ। तर उहाँले जे भने पनि अन्ततः संविधानबमोजिम नै अभिलेख मान्य हुन्छ।”

लिङ्थेपले पुनः संविधानको मर्यादामा बस्न आग्रह गर्दै भने, “हामी सबै संविधानभित्र सीमित रहनुपर्छ, यही मेरो आग्रह हो।” तर उनको कुरा नसकिंदै सभामुख विष्टले बैठकको कार्यसूची अघि बढाएका थिए।

यसअघि पनि ‘श्री ५ महाराजधिराज’ भन्ने अभिव्यक्तिहरू अभिलेखबाट हटाइएको इतिहास रहेको छ।

उल्लेखनीय छ, सभामुख विष्ट राप्रपाबाट निर्वाचित सांसद हुन्। राप्रपा संघीयता र प्रदेश प्रणालीको खारेजीलाई आफ्नो मुख्य राजनीतिक एजेन्डा बनाउँदै आएको छ। सभामुख विष्ट अघिल्ला गणतन्त्र दिवसका कार्यक्रम तथा प्रदेश सरकारका औपचारिक गतिविधिहरूमा समेत अनुपस्थित रहँदै आएका छन्। जेठ १० गतेको गणतन्त्र दिवससम्बन्धी अन्तरक्रियामा पनि उनी सहभागी नभई झापा गएका थिए।

सरकारी प्रचलनअनुसार, राष्ट्रिय दिवस र विशेष अवसरहरूमा सभामुखहरूलाई सम्माननीय अतिथि रूपमा निमन्त्रणा गरिँदै आएको छ।

प्रकाशित मिति: २३ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com