काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न सांसदहरूले भूकम्पबाट क्षतिग्रस्त घरहरूको पुनर्निर्माण प्रक्रिया तीव्र बनाउन र आन्दोलनरत चिकित्सकहरूको मागप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन्।
नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले सरकारी अस्पतालहरूको सेवा प्रभावित हुँदा हजारौं बिरामी मर्कामा परेको उल्लेख गर्दै सरकारले चाँडै समाधान खोज्नुपर्ने आवश्यकता औंल्याए। नेपाल चिकित्सक संघको आन्दोलनका कारण ओपिडी सेवा ठप्प हुँदा सेवाग्राही मारमा परेको भन्दै उनले चिकित्सकहरूको मागप्रति संवेदनशील बन्न आग्रह गरे।
“मेडिकल काउन्सिलको परीक्षा दिएर शल्यक्रियाको अधिकार पाएका चिकित्सकको काम कारबाहीको मूल्याङ्कन नन-मेडिकल व्यक्ति वा उद्योग मन्त्रालय अन्तर्गत हुने कानुन लाजमर्दो छ,” सांसद शर्माले भने, “यो दुखद् विषय हो, सरकारले गम्भीर पुनरावलोकन गर्नुपर्छ।”
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले जाजरकोटसहित भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माण कार्यमा ढिलाइ हुँदा नागरिक अस्थायी टहरामा जीवन यापन गर्न बाध्य भएको बताए। उनले जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा सार्न र पुनर्निर्माण कार्यलाई व्यावहारिक बनाउँदै जीवनरक्षालाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराए।
एमालेका सांसद चन्द्रबहादुर विश्वकर्माले पनि भूकम्पपीडितको समस्यालाई शीघ्र समाधान गर्नुपर्नेमा जोड दिए।
त्यसैगरी, नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले चोभारमा रहेको मञ्जुश्री गल्छीको भौगोलिक स्वरूप नबिग्रियोस् भन्नेमा विशेष जोड दिँदै बागमतीको निकास गल्छी काट्ने कुनै योजना नरहेको भनी उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले दिएको आश्वासनप्रति आभार व्यक्त गरे।
“गल्छीको धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वलाई ध्यानमा राख्दै डुबानको जोखिम न्यूनीकरण गर्ने उपाय खोज्नुपर्छ,” सांसद केसीले भने।
सांसदहरूको सामूहिक आवाजमा सरकारलाई संविधान, स्वास्थ्य, पूर्वाधार र सांस्कृतिक सम्पदाका विषयमा संवेदनशील र उत्तरदायी बन्न स्पष्ट सन्देश दिइएको छ।
प्रकाशित मिति: २३ असार २०८२, सोमबार













प्रतिक्रिया