काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले अध्यागमन क्षेत्रलाई थप सुरक्षित, मर्यादित र निष्पक्ष बनाउन यात्रुहरूलाई खादा, माला र विशेष पहिचान झल्किने पोसाक तथा सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको छ।

बुधबार एक सूचना प्रकाशित गर्दै कार्यालयले अध्यागमन क्षेत्र सुरक्षाको दृष्टिले अति संवेदनशील हुने भएकाले त्यहाँ यस्ता सजावटी तथा चिन्हात्मक सामग्रीहरू प्रयोग गर्न नपाइने स्पष्ट पारेको हो।

नयाँ व्यवस्थाअनुसार, अब अध्यागमन प्रक्रियाका क्रममा यात्रुहरूले खादा, माला वा अन्य कुनै सजावटी वस्तु  प्रयोग गर्न पाउने छैनन्। त्यस्तै, कुनै संस्था, समूह, ट्राभल एजेन्सी वा म्यानपावर कम्पनीको पहिचान झल्किने टोपी, ब्याच, पोसाक वा अन्य सामाग्री प्रयोगमा पनि पूर्ण प्रतिबन्ध लगाइएको छ।

कार्यालयका अनुसार, यस्ता वस्तुहरूले सुरक्षामा संभावित जोखिम बढाउने, यात्रुहरूबीच विभेद भएको महसुस गराउने र कार्यमा अनावश्यक ढिलाइ ल्याउने सम्भावना हुने भएकाले निषेध गरिएको हो।

यो नियम सबै यात्रु, ट्राभल एजेन्सी, म्यानपावर कम्पनी तथा सम्बन्धित पक्षहरूका लागि समान रूपमा लागू हुनेछ।

अध्यागमन कार्यालयले उक्त निर्देशनको पालना गर्न सबैसँग अनुरोध गर्दै नियम उल्लङ्घन भएमा कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिएको छ। कार्यालयले निष्पक्ष र सुरक्षित अध्यागमन प्रक्रिया सुनिश्चित गर्न सबैको सहयोग आवश्यक रहेको स्पष्ट पारेको छ।

प्रकाशित मिति: २६ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com