झापा । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेभित्रको एकता बलियो बनाएर अडिग सङ्कल्पसहित अघि बढ्न सके कसैले पनि पार्टीलाई हराउन नसक्ने दाबी गरेका छन्।
आइतबार झापामा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विगतमा पार्टीभित्रै बसेर सुविधा र जिम्मेवारी भोगेका केही स्वार्थी नेताहरूले एमालेलाई विभाजन गर्न र सिध्याउन षड्यन्त्र गरे पनि जनताले पार्टीप्रति विश्वास कायम राखेर पुनः एमालेलाई राष्ट्रिय शक्ति बनाएको बताए।
“केपी ओली विनाको एमाले र एमाले विनाको देश बनोस् भन्ने चाहना राख्ने प्रतिक्रियावादीहरूको सपना कहिल्यै पूरा हुँदैन,” उनले भने, “एमाले कुनै सानो स्वार्थको पार्टी होइन, यो देश बनाउने दृढ सङ्कल्प बोकेको बलिदानी पार्टी हो।”
अध्यक्ष ओलीले एमालेविरुद्ध भइरहेको प्रचार–प्रसार भ्रमपूर्ण रहेको उल्लेख गर्दै कार्यकर्तालाई सतर्क रहन आग्रह गरे। उनले भने, “हाम्रो विरुद्ध माकुरोले बुनेको जालो हो, त्यस्तो जालोमा भैँसी कहिल्यै अडिन्न। एमाले र म केपी ओली कहिल्यै भ्रष्टाचारमा संलग्न भएका छैनौं। हामी रास्वपाजस्तो होइनौं, जो सहकारी ठगीपछि हस्ताक्षर संकलन गरेर समर्थन खोज्छ।”
प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा विकासको आधार निर्माण भइसकेको दाबी गर्दै फलाम खानी, पेट्रोलियम उत्खनन, सुरुङ मार्ग लगायतका महत्त्वपूर्ण परियोजनाहरूको थालनी गरिएको स्मरण गराए। “नेपाललाई यदि कोही बनाउन सक्छ भने त्यो एमाले नै हो, अरू कसैले सक्दैन,” उनले स्पष्ट पारे।
स्पेन भ्रमणप्रति उठाइएको आलोचना पनि उनले खारेज गरे। “हाम्रो सफल विदेश भ्रमणको अपमान गर्न विपक्षीले वाइसीएल प्रयोग गरेर भ्रम फैलाउने प्रयास गरिरहेका छन्,” उनले आरोप लगाए।
कार्यक्रममा अध्यक्ष ओलीले सयौँ नयाँ युवालाई पार्टीमा स्वागत गर्दै आगामी चुनावका लागि संगठन अझ सशक्त बनाउने दृढता दोहोर्याएका थिए।
प्रकाशित मिति: २९ असार २०८२, आइतबार












प्रतिक्रिया