काठमाडौं ।  नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा फ्लडलाइट र प्याराफिट निर्माणबारे उठेको प्रश्नमा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मैदानमा निर्माण कार्य अवलोकन गर्न आग्रह गरेका छन्।

“पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालजीले आज प्रश्न सोध्नु भएछ-कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट? खोई प्याराफिट?” भन्दै ओलीले लेखेका छन्, “मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्याराफिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस्। बनिरहेको छ।”

ओलीले आफ्नो कार्यकालमा योजनाहरूलाई समय सीमा तोकेर अघि बढाएको र त्यसबारे सार्वजनिक जवाफ दिन तयार रहेको उल्लेख गर्दै प्रचण्डमाथि आलोचना गरे। उनले भनेका छन्, “तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नु भएन, र गर्नु पनि भएन। तपाईंका त न कुनै वाचा, न निर्णय, न संकल्प, न काम।”

अर्थतन्त्रको सन्दर्भमा पनि ओलीले दाहाल नेतृत्वको आलोचना गर्दै लेखेका छन्, “तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुगेको छ, तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु।”

उनको यो प्रतिक्रिया पूर्वप्रधानमन्त्री प्रचण्डले संसदमा दिएको अभिव्यक्तिपछि आएको हो, जहाँ उनले सरकारको घोषणाअनुसार ३०० दिनभित्र रंगशालामा फ्लडलाइट र प्याराफिट निर्माण नहुँदाको आलोचना गरेका थिए।

प्रकाशित मिति: ३० असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com