काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अब नेपालमै विद्युतीय गाडी (ईभी) उत्पादन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

बुधबार काठमाडौंमा आयोजित महानगर यातायात प्रालिको विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै सचिव शर्माले ईभीको प्रयोग तीव्र रूपमा बढिरहेको अवस्थामा नेपालमै उत्पादन थाल्न सके मूल्य सस्तो हुने र व्यवस्थापन पनि सहज हुने बताए।

advertisement

उनले भने, “नेपालमा विद्युतीय गाडी उत्पादन गर्न सक्ने फ्याक्ट्री स्थापना भयो भने स्पेयर पार्ट्स यही बन्नेछ, मूल्य पनि घट्नेछ। त्यसैले अब निजी क्षेत्रले यसमा लगानी गर्नुपर्छ।”

सचिव शर्माका अनुसार सार्वजनिक यातायात प्रणाली सुधार गर्दै साना गाडीहरू प्रतिस्थापन गर्न जरुरी छ। “नेपालको सन्दर्भमा विद्युतीय यातायात अत्यन्त महत्त्वपूर्ण छ। इन्धन आयातमा अत्यधिक खर्च हुने भएकाले ईभी प्रणाली विस्तार गरेमा स्वदेशी विद्युतको उपयोगसँगै विदेशी मुद्रा बाहिरिने क्रम कम गर्न सकिन्छ,” उनले स्पष्ट पारे।

काठमाडौंजस्तो सानो भूगोलमा पार्किङको समस्या रहँदा साना गाडीको सट्टा प्रभावकारी सार्वजनिक यातायात आवश्यक भएको सचिव शर्माले बताए। “महानगरले सुरु गरेको विद्युतीय बस सेवा सराहनीय छ। यो प्रयासले वातावरणमैत्री र भरपर्दो यातायात सेवा निर्माणमा टेवा पुर्‍याउनेछ,” उनले भने।

बिदाको दिन आफू पनि महानगर यातायात चढ्ने गरेको अनुभव साझा गर्दै सचिव शर्माले सार्वजनिक यातायात प्रणालीलाई व्यवस्थित, सुरक्षित र जनमैत्री बनाउनु आवश्यक रहेको बताए।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले सरकारका तर्फबाट बनाइएका विभिन्न कार्यदलको प्रतिवेदन दराजमै सीमित भएकोप्रति असन्तुष्टि व्यक्त गरे।

उनले भने, “यातायात सुधारका लागि बनाइएका प्रतिवेदनहरू यदि कार्यान्वयनमा ल्याइएका भए आज देखिएका धेरै समस्या समाधान हुन्थे। तर दुर्भाग्यवश, ती सुझावहरू बेवास्ता गरिन्छ।”

अध्यक्ष स्वाँरले सार्वजनिक यातायातमा देखिएको अस्वस्थ प्रतिस्पर्धा अन्त्य गर्न नीति र रुट प्रणालीमा आमूल सुधार आवश्यक रहेको बताए। “रुट परिवर्तन मात्र होइन, समग्र नीतिगत ढाँचा परिवर्तन नगरेसम्म निजी लगानीसमेत जोखिममा पर्छ,” उनले स्पष्ट पारे।

प्रकाशित मिति: ३२ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com