काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित अडियो प्रकरणबारे गम्भीर छानबिन गर्न सरकारलाई आग्रह गरेका छन्। उनले सार्वजनिक अडियोमा जो–कोहीको आवाज समावेश भए पनि तुरुन्त नियन्त्रणमा लिएर सत्य तथ्य पत्ता लगाउनुपर्ने बताएका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले भने, “संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट राजीनामा दिनु गम्भीर छानबिनको जनदबाबलाई स्वीकार गरिएको संकेत हो। अब यो प्रकरणको अनुसन्धान अविलम्ब सुरु हुनुपर्छ।”

अडियोमा एकजना पूर्वमन्त्री, एकजना बहालवाला मन्त्री र एक बिचौलियाको संलग्नता उल्लेख गरिएको सन्दर्भमा थापाले ती आवाजहरू सक्कली वा नक्कली भनेर छुट्याउने जिम्मा राज्यका अनुसन्धान निकायको भएको बताए।

“जो–कोही बोलेको भए पनि सार्वजनिक अडियोका आधारमा तुरुन्त नियन्त्रणमा लिएर छानबिन गर्नुपर्छ,” थापाले भने, “दोषी कसैलाई पनि उन्मुक्ति दिनु हुँदैन। चाहे त्यो झोसपोलवाला होस्, बिचौलिया होस् वा ठग नै किन नहोस् – कोही पनि अनुसन्धानको दायराभित्र पर्नबाट बच्न नपाओस्।”

नेता थापाले एक मन्त्रीको राजीनामाले मात्र सिङ्गो प्रकरण टुंगिएको मान्न नहुने चेतावनीसमेत दिए। “यो विषय आरोप–प्रत्यारोप वा केवल राजीनामामै सीमित गरिनुहुँदैन,” उनले भने, “सुशासनको प्रत्याभूति यहीँबाट सुरु हुनुपर्छ।”

प्रकाशित मिति: ३२ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com