काठमाडौँ । ३२ लाख रुपैयाँ घुस लिएको दाबीसहितको नयाँ अडियो क्लिप सार्वजनिक भएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी आज पत्रकार सम्मेलन गर्दै छन्। मन्त्रीको सचिवालयका अनुसार दिउँसो ३ बजे मन्त्रालयमै पत्रकार सम्मेलनको आयोजना गरिएको हो।

नयाँ अडियो क्लिपमा पोखरास्थित १३५ रोपनी जग्गा व्यक्तिगत नाममा ल्याउने प्रयोजनका लागि सम्बन्धित समूहसँग मन्त्री अधिकारी, सामान्य प्रशासनका तत्कालीन मन्त्री राजकुमार गुप्ता, सचिव अर्जुन पोखरेल र मन्त्री अधिकारीका छोरा मनोज अधिकारीले घुस लेनदेन गरेको दाबी गरिएको छ।

advertisement

अडियोमा मन्त्री अधिकारीले छोरामार्फत ३२ लाख, मन्त्री गुप्ताले ३५ लाख र सचिव पोखरेलले ५ लाख लिएको उल्लेख छ। संवादका क्रममा जग्गा मिलाउन करिब डेढ करोड रुपैयाँ खर्च भइसकेको दाबी समेत गरिएको छ।

यसअघि सार्वजनिक अडियोमा पनि मन्त्री अधिकारीको नाम बिचौलियासँगको सम्वादमा उल्लेख गरिएको थियो। त्यस घटनालाई लिएर मन्त्री अधिकारीले प्रतिनिधि सभा बैठकमा आफू निर्दोष रहेको दाबी गर्दै आरोप अस्वीकार गरेका थिए। उनले ‘जुन औँलामा विष लागेको हो, त्यही झर्छ’ भन्दै आफू निर्दोष भएको तर्क गरेका थिए।

हालै सार्वजनिक भएको अडियोमा पनि गुप्तासँगको संवादमा पुनः मन्त्री अधिकारीसहित खेम पुन, दीपा लगायतका नामहरु सुनिन्छन्।

यता, मंगलबारमात्रै सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले यस्तै अडियो प्रकरणमा आफ्नो नाम आएपछि राजीनामा दिएका थिए।

यो प्रकरणले सरकारका मन्त्री र उच्च पदस्थ कर्मचारीको भूमिसम्बन्धी घुस काण्डमा संलग्नतामाथि गम्भीर प्रश्न उठाएको छ। अब मन्त्री अधिकारीले आजको पत्रकार सम्मेलनमा के धारणा राख्छन् भन्नेमा चासो बढेको छ।

प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com