काठमाडौँ । नेपाल पर्यटन बोर्ड (एनटिबी) का पूर्व प्रमुख कार्यकारी अधिकृत तथा पर्यटन क्षेत्रका विज्ञ डा. धनञ्जय रेग्मी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।
बिहीबार रास्वपाको बालाजुस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत रेग्मीले औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्। पार्टीका प्रवक्ता तथा सांसद मनिष झाले उनको पार्टी प्रवेशको घोषणा गरेका थिए।
पार्टीमा प्रवेश गर्दै रेग्मीले रास्वपाको नीतिगत स्पष्टता, सिद्धान्त र समर्पित नेतृत्वले आफूलाई आकर्षित गरेको बताए। उनले विगतका परम्परागत राजनीतिक शक्तिहरूबाट मुलुकको समृद्धि सम्भव नदेखिएको भन्दै नयाँ राजनीतिक विकल्पका रूपमा रास्वपालाई रोजेको स्पष्ट पारे।
“म अहिलेसम्म कुनै पनि राजनीतिक दलमा आबद्ध थिएँ । तर, अब स्पष्ट नीति, सदाचार र नेतृत्वमा प्रतिबद्ध रास्वपामा सहभागी भएको छु,” उनले भने।
रेग्मीले रास्वपा सभापति रवि लामिछानेमाथि भइरहेका राज्यका नियोजित दमन र चरित्रहत्या प्रयासप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आफू रवि नेतृत्वप्रति पूर्ण समर्थनमा रहेको बताए।
स्याङ्जा जिल्लामा जन्मिएका डा. रेग्मी हिमाली भूगोल, वातावरण, जलवायु परिवर्तन र पर्यटन क्षेत्रमा विशेषज्ञ मानिन्छन्। उनले जापानको होक्काइदो विश्वविद्यालयबाट पर्यावरणीय पृथ्वी विज्ञान (Environmental Earth Science) मा पीएचडी गरेका छन्। साथै, अमेरिकाको एरिजोना विश्वविद्यालयमा वृक्षविज्ञान (Dendrochronology) मा फेलोशिपसमेत पूरा गरेका छन्।
प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया