काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय अभियानबीच पार्टी एकता सम्पन्न भएसँगै संयोजक वामदेव गौतमले आफूले नेतृत्व गरेको कुनै पनि आन्दोलन असफल नभएको दाबी गरेका छन्।
शुक्रबार राजधानीमा आयोजित पार्टी एकता समारोहलाई सम्बोधन गर्दै गौतमले संघर्ष र आन्दोलनमार्फत सफलता हासिल गर्दै आएको स्मरण गरे। “म आन्दोलनको मान्छे हुँ, नेता हुँ,” गौतमले भने, “मैले जिम्मा लिएको कुनै पनि आन्दोलन असफल भएको छैन, सधैं सफलता प्राप्त भएको छ।”
उनले आवश्यकता परेमा आफ्नो संघर्षशील भूमिका अझ बलियो ढंगले प्रस्तुत हुने चेतावनी पनि दिए। “यी हातहरू आवश्यकता परे हतियार बन्न सक्छन्,” उनले भने, “अहिले पनि म त्यसैगरी अघि बढ्न तयार छु।”
गौतमले पार्टी र नेताहरू समाजवादको स्पष्ट मार्गचित्रसहित अघि बढ्नुपर्नेमा जोड दिए। उनले समाजवाद निर्माणका लागि आफ्नो व्यक्तिगत योजनाबारे जानकारी दिँदै भने, “चार वर्षअघि म पार्टीमा समाहित हुन पाएको भए, आजसम्म समाजवादको संरचना तयार भइसक्थ्यो।”
उनले समाजवाद निर्माणका लागि १२ खर्ब रुपैयाँ बराबरको योजना तयार गरिसकेको पनि बताए। “मैले ‘समाजवाद निर्माणको राष्ट्रिय योजना’ सम्बन्धी किताब नै लेखेको छु,” गौतमले भने, “यो योजना कार्यान्वयन गर्न पार्टी एकपटक प्रतिबद्ध भएर अघि बढ्न आवश्यक छ।”
देशको भविष्य निर्माणका लागि अब विचार, संगठन र योजना तीनै पक्षमा एकीकृत ढंगले अघि बढ्नुपर्ने धारणा राखे। “यो देश हाम्रा पुर्खाहरूले हामीलाई समाजवाद निर्माणका लागि सुम्पेका हुन्,” गौतमले भने, “अब त्यो जिम्मेवारी पूरा गर्ने बेला आएको छ।”
यसैबीच, गौतमको नेतृत्वमा रहेको नेकपा एकता राष्ट्रिय अभियान शुक्रबारदेखि औपचारिक रूपमा नेकपा (एकीकृत समाजवादी) मा समाहित भइसकेको छ। पार्टी एकीकरणसँगै समाजवादको मार्गमा संगठित ढंगले अघि बढ्ने विश्वास गरिएको छ।
प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया