काठमाडौं । नेपाल मतदाता अधिकार मञ्चले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरणसम्बन्धी विधेयकमा सुझावसहित ध्यानाकर्षण पत्र बुझाएको छ।
पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयमा पुगेको मञ्चका प्रतिनिधिमण्डलले अध्यक्ष प्रचण्डलाई भेट गरी सुझावपत्र हस्तान्तरण गरेको हो।
ध्यानाकर्षण पत्र ग्रहण गर्दै अध्यक्ष प्रचण्डले वर्तमान निर्वाचन प्रणाली भ्रष्टाचारको मुहान भएको टिप्पणी गर्दै त्यसमा आमूल सुधार आवश्यक रहेको धारणा राखे। “मुहानबाट धमिलो पानी आइरहेको अवस्थामा धाराबाट सफा पानी खोज्न मिल्दैन,” उहाँले भन्नुभयो, “प्रत्यक्ष कार्यकारी रहने गरी निर्वाचन प्रणाली आवश्यक छ।”
उहाँले खर्चिलो निर्वाचन प्रणाली, सांसद भएर मात्र मन्त्री वा प्रधानमन्त्री बन्नुपर्ने व्यवस्था र दलहरूको चरम खर्चप्रतिको निर्भरता भ्रष्टाचारको मूल कारक भएको बताए।
अध्यक्ष प्रचण्डले जनसंख्याका आधारमा पूर्ण समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै माओवादी केन्द्रले निर्वाचन प्रणालीमा आवश्यक परिवर्तनका लागि निरन्तर आवाज उठाउँदै आएको स्मरण गराए।
मतदाता अधिकार मञ्चले उठाएका मुद्दा सकारात्मक रहेको स्वीकार गर्दै अध्यक्ष प्रचण्डले यस्ता मागहरू सुझावपत्र बुझाएर मात्रै पूरा नहुने स्पष्ट पारे। परिवर्तनका लागि आन्दोलन अपरिहार्य हुन सक्ने भन्दै उनले भने, “परिवर्तनको पक्षमा निरन्तर संघर्ष गर्दै आएको माओवादी केन्द्रलाई यस्ता अभियानमा साथ दिँदा मात्रै परिवर्तनका एजेण्डा सफल हुनेछन्।”
“मतदाता अधिकार मञ्चको पहल सराहनीय छ,” अध्यक्ष प्रचण्डले थपे, “तर यस्ता मागहरूलाई संस्थागत गर्न संघर्षको तयारी पनि आवश्यक पर्छ। हामी सडक संघर्षमा जान पनि तयार छौं। तपाईंहरू पनि तयार रहनुहोस्।”
मतदाता अधिकार मञ्चले निर्वाचन प्रणालीमा सुधार, प्रतिनिधित्वको समावेशीकरण र मतदाताको अधिकार सुनिश्चित गर्नुपर्ने भन्दै विभिन्न सुझावहरू अध्यक्ष प्रचण्डसमक्ष पेश गरेको हो।

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया