काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) सँग पार्टी एकताको कुनै सम्भावना नरहेको प्रस्ट पारेका छन्। शुक्रबार राजधानीको राष्ट्रिय सभागृहमा आयोजित नेकपा एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादीबीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो धारणा राखेका हुन्।
उनले एमाले नेतृत्वले एकीकृत समाजवादी पार्टीलाई समाप्त पार्ने रणनीति बनाइरहेको स्पष्ट संकेत दिँदै यस्तो अवस्थामा पार्टी एकताको कुरा केवल भ्रम हुने बताए। “त्यहाँभित्रको वास्तविकता हामी भलीभाँति बुझिसकेका छौं। यदि कसैलाई आशा या अपेक्षा छ भने त्यो उनकै विचार हो। तर एमाले नेतृत्वका अभिव्यक्तिहरूबाटै प्रष्ट भइसकेको छ— उनीहरू हाम्रो पार्टीलाई समाप्त पार्ने योजनामा छन्,” अध्यक्ष नेपालले भने।
उनले एमालेको रणनीति र व्यवहारले यसअघि नै विश्वास गुमाइसकेको उल्लेख गरे। “कसरी हाम्रो पार्टीमाथि प्रहार गर्ने, कसरी हाम्रो अस्तित्व मेट्ने भन्नेमा उनीहरू लागिपरेका छन्। त्यसैले यस्तो अवस्थामा एमालेसँगको पार्टी एकताको भ्रममा पर्नु मूर्खता हुनेछ,” उनले थपे।
अध्यक्ष नेपालले एकता राष्ट्रिय अभियानसँगको पार्टी एकता ऐतिहासिक कदम भएको बताउँदै यो प्रक्रिया अब कसैले रोक्न नसक्ने विश्वास व्यक्त गरे। “यो एकता हाम्रो संगठनलाई अझ बलियो बनाउने छ। यसलाई असफल पार्ने कुनै शक्तिमा सामर्थ्य छैन,” उनले दाबी गरे।
प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया