काठमाडौं । नेपाली कांग्रेसका नेता आफताब आलमलाई बम विस्फोट र मानव हत्यासम्बन्धी मुद्दामा सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालत पुगेको छ।
शुक्रबार नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालमार्फत उक्त मुद्दा सर्वोच्चमा पुनरावलोकनका लागि पेस गरिएको हो। यसअघि उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले नेता आलमसहित चार जनालाई सफाइ दिँदै जिल्ला अदालत रौतहटको दोषसिद्ध फैसला उल्ट्याएको थियो।
२०७९ साल जेठ १४ गते आएको उच्च अदालतको उक्त निर्णयपछि व्यापक आलोचना भएको थियो। फैसलामा संलग्न न्यायाधीश खुसीप्रसाद थारू र अर्जुन महर्जनको भूमिकामाथि प्रश्न उठेपछि न्याय परिषद्ले दुवैलाई सर्वोच्च अदालतमा तानेको थियो।
महान्यायाधिवक्ताको कार्यालयले उच्च अदालतको निर्णयलाई ‘त्रुटिपूर्ण’ ठहर गर्दै जिल्ला अदालत रौतहटको फैसला नै उचित रहेको जिकिर गर्दै सर्वोच्चमा पुनरावलोकनका लागि पुगेको हो। ‘आज मुद्दा सर्वोच्चमा पठाइएको छ तर दर्ता प्रक्रिया बाँकी छ,’ कार्यालयका प्रवक्ता तथा सहन्यायाधिवक्ता सूर्यराज दाहालले जानकारी दिए।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले मुद्दा प्राप्त भए पनि रूजु प्रक्रिया पूरा नभएकाले आइतबार दर्ता गरिने बताए।
यसअघि असार २५ गते महान्यायाधिवक्ता रमेश बडालले फैसलाको पूर्णपाठ आएलगत्तै पुनरावेदनमा जाने निर्णय गरेका थिए। वीरगञ्जस्थित उच्च सरकारी वकिलको कार्यालयले पनि मिसिल पठाएर पुनरावलोकनको सिफारिस गरेको थियो।
प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया