काठमाडौं । गृहमन्त्री रमेश लेखकले अपराध नियन्त्रणका लागि सुरक्षाकर्मीलाई आवश्यक हतियार उपलब्ध गराउनु अनिवार्य रहेको स्पष्ट पारेका छन्।

शुक्रबार राष्ट्रिय सभाको संघीयता सुदृढीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै मन्त्री लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई कानुनबमोजिम आवश्यक हतियार किनिने बताएका हुन्। उनले भने, “अपराध नियन्त्रण गर्न प्रहरीले कहिलेकाहीँ गोली चलाउनुपर्ने अवस्था आउँछ, यस्तो अवस्थामा हतियारविहीन प्रहरी के गर्न सक्ला?”

advertisement

उनले प्रहरीलाई हतियार दिनु शिक्षकलाई चक–डस्टर र विद्यार्थीलाई कापी–किताब दिनुजस्तै भएको टिप्पणी गरे। “पुलिसलाई मिठाइको बट्टा थमाएर अपराध नियन्त्रण गर्न सकिँदैन,” उनले हँसिलो शैलीमा भने, “कतिपय अपराधी त मिठाइ खाएर झन् थप उच्छृंखल बन्ने खतरा हुन्छ।”

गृहमन्त्री लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमाथि चुनौती दिने गतिविधिहरू भइरहेका भन्दै त्यस्ता गतिविधि रोक्न प्रहरीले आवश्यकतानुसार न्यूनतम बल प्रयोग गर्नुपर्ने धारणा राखे। “हाम्रा अग्रजहरूले ठूलो बलिदानबाट ल्याएको संविधान र व्यवस्थालाई उल्ट्याउने प्रयासहरू भइरहेका छन्,” उनले भने, “त्यस्ता क्रियाकलाप रोक्न टियर ग्यास नै हान्नुपरेको छ, त्यो पनि कहिलेकाहीँ म्याद गुज्रिएको प्रयोग गर्नुपरेको अवस्था आएको छ।”

उनले म्याद सकिएको टियर ग्यास प्रयोग गर्नुको विकल्प नयाँ हतियार खरिद गर्नु नै रहेको भन्दै त्यसतर्फ सरकार अग्रसर रहेको जानकारी दिए।

मन्त्री लेखकले प्रहरी संगठनको सुदृढीकरणका लागि हतियार मात्र होइन, भौतिक पूर्वाधार पनि बराबरी प्राथमिकतामा रहेको बताए। “यदि हामीले भवन मात्रै बनाएर हतियार नदियौं भने त्यो पनि असन्तुलन हुन्छ,” उनले स्पष्ट पारे, “पुलिसलाई हतियार नदिएर चक–डस्टर दिने कुरा हो भने त्यो त हास्यास्पद कुरा हुन्छ।”

मन्त्री लेखकले सीमाक्षेत्रमा सक्रिय अपराधीहरूलाई नियन्त्रण गर्न विशेष रणनीति र उपकरणको आवश्यकता रहेको उल्लेख गरे। “सीमामा सीमित स्रोत र साधनका बाबजुद सशस्त्र प्रहरी बलले राम्रो काम गरिरहेको छ,” उनले भने, “अब त्यो काम अझ प्रभावकारी बनाउन सशक्त नीतिगत र भौतिक सहयोग आवश्यक छ।”

उनले शान्ति, सुरक्षा, लोकतन्त्र र विकास परस्परपूरक तत्व भएको उल्लेख गर्दै शान्ति सुरक्षाको सुदृढीकरणलाई सरकारले सर्वोच्च प्राथमिकतामा राखेको बताए।

मन्त्री लेखकले प्रहरीको मनोबल उच्च बनाउन नयाँ कानुनहरू संसद्मा दर्ता भइसकेको जानकारी दिँदै अब प्रहरी संगठन थप सक्षम, सुदृढ र विश्वसनीय बन्दै जाने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com