काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीभित्र देखा परेको पछिल्लो विवाद समाधानका लागि संयम र विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी पोलिटब्युरो बैठकमा बोल्दै उनले पार्टीभित्रको असमझदारी राजनीतिक संवादमार्फत समाधान गर्नुपर्ने बताएका हुन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्किने सम्भावनासँगै एमालेभित्र पक्ष-विपक्षमा छलफल तीव्र बनेका बेला बास्कोटाले अध्यक्ष केपी शर्मा ओली र भण्डारीबीच संवाद बढाउनुपर्ने धारणा राखे।
“अध्यक्ष र पूर्व राष्ट्रपतिबीचको सम्बन्ध पार्टीभित्र मात्र होइन, बाहिरी संसारलाई पनि थाहा छ,” बास्कोटाले बैठकमा भने, “दुवैले आपसी छलफलमार्फत राजनीतिक शैलीमा समाधान खोज्नुपर्छ, यो प्राविधिक बहसको विषय होइन।”
बास्कोटाले पार्टीका दोस्रो पुस्ताका नेताहरूलाई पनि जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरे। “दोस्रो पुस्ताका हौं भन्नेहरूले अहिलेको असहज परिस्थितिमा समाधान निकाल्ने क्षमता देखाउनुपर्छ,” उनले भने, “हामी पनि प्रतिस्पर्धा गर्न तयार छौं।”
उनले कुनै पनि संवेदनशील विषयमा ‘झटारो’ शैलीमा प्रतिक्रिया जनाउनु अनुचित हुने चेतावनीसमेत दिए। “पार्टीमा अहिले ट्रस्टफूल (विश्वासिलो) एकताको खाँचो छ, यान्त्रिक एकता होइन,” बास्कोटाले निष्कर्ष निकाले।
बैठकमा नेताहरूले आ–आफ्ना धारणा राख्ने क्रम जारी रहेको छ। पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक पुनर्सक्रियता, अध्यक्षको कार्यकाल सीमा, तथा ७० वर्षे उमेर हद लगायतका विषय बैठकको मूल एजेन्डा बनेका छन्।
प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार












प्रतिक्रिया