काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आइतबार देशका अधिकांश भागमा मेघगर्जन/चट्याङसहित हल्का देखि भारी वर्षा हुने पूर्वानुमान जारी गरेको छ। विभागका अनुसार केही स्थानहरूमा अत्यधिक वर्षा हुने सम्भावनासमेत रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ।
दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही भू-भागमा भारी देखि अति भारी वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ।
लुम्बिनी प्रदेशमा भू-स्खलन र बाढीको जोखिम विशेषगरी उच्च रहेको र सम्भावित जोखिमयुक्त क्षेत्रहरूमा सतर्कता अपनाउन भनिएको छ। विभागले भनेको छ, “लुम्बिनी प्रदेशका केही स्थानहरूमा अति भारी वर्षा हुने सम्भावना छ, जसले गर्दा भू-स्खलन र बाढीको जोखिम थपिएको छ।”
राति पनि अधिकांश प्रदेशमा वर्षा जारी रहने पूर्वानुमान गरिएको छ। अधिकांश स्थानमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने छ भने केही स्थानमा भारी वर्षा हुन सक्ने विभागको भनाइ छ।
विभागले बाढी, पहिरो र सडक यातायात अवरुद्ध हुनसक्ने भन्दै नदी किनार, पहाडी क्षेत्र र जोखिमयुक्त स्थानमा सचेत रहन आग्रह गरेको छ।

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार












प्रतिक्रिया