काठमाडौं । चीनको प्रत्यक्ष लगानीमा सिन्धुलीमा २० अर्ब रुपैयाँ लागतमा भव्य भैंसी मासु प्रशोधन उद्योग स्थापना हुने भएको छ। वार्षिक डेढ खर्ब रुपैयाँ बराबरको मासु चीन निर्यात गर्ने लक्ष्यसहित अघि बढाइएको यो परियोजनाबाट पाँच हजारभन्दा बढी नेपालीले प्रत्यक्ष रोजगारी पाउने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिँदै उक्त परियोजनालाई नेपालको निर्यात र रोजगारी वृद्धिको ‘गेम चेन्जर’ परियोजनाको रूपमा व्याख्या गरेका छन्।

advertisement

प्रधानमन्त्रीका अनुसार, चीनको सिचुवान प्रान्तस्थित ‘छेन्दु जियान फुड कम्पनी’ले सिन्धुलीको मरिण गाउँपालिका–४ मा उद्योग स्थापना गर्न उद्योग विभागबाट स्वीकृति पाएको हो। उक्त कम्पनीले हरेक वर्ष दुई लाख मेट्रिक टन भैंसीको मासु र ५५ हजार मेट्रिक टन छाला, भित्री अंगलगायत सहायक वस्तु उत्पादन गर्नेछ।

प्रधानमन्त्री ओलीले स्मरण गराए अनुसार, गत मंसिरमा चीन भ्रमणको क्रममा भएको द्विपक्षीय सहमतिअनुसार यो परियोजना अघि बढाइएको हो।

सरकारले आशा व्यक्त गरेको छ कि निर्यात वृद्धिसँगै नेपालको व्यापार घाटा कम गर्न र स्थानीय अर्थतन्त्र सुदृढ गर्न यो उद्योगले महत्वपूर्ण भूमिका खेल्नेछ। साथै, ५,१५६ जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराएर स्थानीय जनजीवनमा ठुलो आर्थिक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com