काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई भविष्यमा विश्वस्तरीय खेलाडी उत्पादन गर्ने मुलुकको रूपमा विकास गर्ने लक्ष्य रहेको बताएका छन्। बिहीबार दशरथ रंगशालामा आयोजित ‘फिफा फुटबल फर स्कूल्स’ कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेपालले मेस्सी, रोनाल्डो, एमबाप्पे वा पेलेजस्ता खेलाडी जन्माउने सम्भावना बोकेको दाबी गरे।
“नेपालका बालबालिकामा अपार सम्भावना छन्। उनीहरूलाई उचित पूर्वाधार, तालिम र अवसर दिन सकियो भने उनीहरू पनि अन्तर्राष्ट्रिय स्तरका खेलाडी बन्न सक्छन्,” प्रधानमन्त्री ओलीले भने।
सरकारले खेलकुद क्षेत्रको विकासमा कुनै कसर बाँकी नराख्ने बताउँदै उनले भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण हुने घोषणा गरे। “जब तपाईंहरू खेलाडी भएर मैदानमा उत्रिनुहुन्छ, त्यतिबेला यो रङ्गशालामा हजारौं दर्शकको हर्षध्वनि हुनेछ,” उनले बालबालिकालाई सम्बोधन गर्दै भने।
‘फुटबल फर स्कूल्स’ कार्यक्रममार्फत देशभरका १,०७२ विद्यालयमा फुटबल सामग्री वितरण गरिने र करिब ६ लाख विद्यार्थी लाभान्वित हुने जानकारी उनले दिए। साथै, प्रशिक्षक र शिक्षकहरूलाई आवश्यक तालिम प्रदान गरिने र खेलमार्फत अनुशासन, नेतृत्व र सहकार्यजस्ता जीवनोपयोगी सीप सिकाइने लक्ष्य रहेको उनले बताए।
प्रधानमन्त्री ओलीले हाल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको निर्माण अन्तिम चरणमा पुगेको, भने पोखरा, सुर्खेत, धनगढी, झापा र दमकमा पनि नयाँ रङ्गशालाको काम अघि बढेको जानकारी दिए।
खेलकुद शारीरिक तन्दुरुस्तीसँगै नैतिक मूल्य, मित्रता र जीवन सीप विकास गर्ने माध्यम भएको उल्लेख गर्दै उनले “निरोगी नेपाल” निर्माणमा खेलकुद क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। “यस अभियानमार्फत नेपालबाट भविष्यका महान् खेलाडी जन्मिनेमा म पूर्ण विश्वासमा छु,” उनले भने।
प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार










प्रतिक्रिया