काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ। बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार आज साँझ ५ बजे बस्ने बोर्डको बैठकबाट नतिजा प्रकाशन सम्बन्धी निर्णय हुन सक्नेछ।

“नतिजा आजै सार्वजनिक हुन सक्ने सम्भावना छ, नभए भोलि मंगलबारसम्म नतिजा आउँछ,” अर्यालले जानकारी दिए।

यसअघि आइतबार पनि बोर्ड बैठक बसेर सदस्यहरूलाई नतिजा प्रकाशन सम्बन्धी ब्रिफिङ गरिएको थियो।

गत वैशाखमा सञ्चालन भएको परीक्षामा ५ लाख ११ हजार परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ३ लाख ९५ हजार नियमित र १ लाख १५ हजार आंशिक परीक्षार्थी थिए। देशभर १ हजार ५९१ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो।

जापानस्थित एभरेस्ट स्कुलबाट ३८ जना विद्यार्थी सहभागी थिए भने मनाङबाट ४५ र काठमाडौंबाट सबैभन्दा धेरै ६८ हजार परीक्षार्थी सहभागी थिए। काठमाडौंमा मात्रै १६२ परीक्षा केन्द्र तोकिएको थियो।

नेपाल शिक्षक महासंघको आन्दोलनका कारण परीक्षा निर्धारित समयभन्दा १० दिन ढिला भएर जेठ २ गते सकिएको थियो।

लेटर ग्रेडिङ प्रणालीअनुसार, प्रत्येक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५% अंक अनिवार्य छ। न्यूनतम ग्रेड नपुग्ने विद्यार्थीको नतिजा नन-ग्रेडेड (NG) हुने नियम छ।

गत वर्ष कक्षा १२ मा करिब ५२ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए।

प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com