काठमाडौं । नेकपा (एमाले) का सांसद गोकुल बाँस्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि नैतिकताको आधारमा प्रश्न उठाउँदै तीव्र आलोचना गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै बाँस्कोटाले रास्वपाले भिजिट भिसा प्रकरणमा अनेक प्रश्नहरू उठाए पनि ठोस तथ्य र जवाफ प्रस्तुत गर्न नसकेको टिप्पणी गरेका हुन्।

“उहाँहरूलाई प्रश्न उठाउन त हिम्मत छ, तर आफैँ नैतिकताको कसीमा उभिन सक्ने आँट छैन,” बाँस्कोटाले भने, “अरूलाई चार–पाँच औँला तेर्स्याउने तर आफूलाई फर्किएको एउटै औँलाको उत्तर दिन सक्ने हिम्मत छैन।”

उनले रास्वपा सांसदहरूको संसदमा प्रस्तुत शैलीलाई पनि व्यङ्ग्यात्मक शैलीमा आलोचना गरे। “केही समयदेखि देख्दै आएको छु — कहिले नाराबाजी, कहिले पलेटी, कहिले स्कार्फ देखाउने प्रदर्शन, अनि दुई मिनेट उभिएर मौनतासहित बाहिरिने। न आफू बोल्ने, न अरूको सुन्ने,” उनले भने।

सांसद बाँस्कोटाले रास्वपामाथि आरोप लगाउँदै जनभावनाको लहर चढेर लोकप्रियतावादको राजनीति गरिरहेको टिप्पणी गरे। उनले लोकप्रियता खोज्दै कठोर राजनीतिक जिम्मेवारीबाट पन्छिन खोज्नु गलत भएको स्पष्ट पारे।

“यो सोचाई छ कि म स्फटिकजस्तै शुद्ध छु, मेरो आलोचना हुनै हुँदैन, म विशेष हुँ। तर यो प्रवृत्तिले राजनीति जिम्मेवार बनाउँदैन। लोकप्रियताको घोडा चढेर हिटलर वा जेलेन्स्की बन्ने सपना देख्नु अहिलेको समाजका लागि घातक हुन सक्छ,” बाँस्कोटाले जोड दिए।

उनले तथ्य, तर्क र जवाफदिहिता बिना गरिएको हल्लाको राजनीति दीर्घकालीन रूपमा देश र लोकतन्त्रका लागि हानिकारक हुने चेतावनी पनि दिए।

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com