काठमाडौं । भारतको उत्तराखण्डमा आएको बाढीपहिरोमा परी जाजरकोटका सात जनाको मृत्यु भएको छ । ज्यालामजदुरीका लागि भारतको उत्तराखण्ड पुगेका कुशे गाउँपालिका–२ टालेगाउँका १३ जना सो बाढीपहिरोमा परी बेपत्ता भएका थिए । बेपत्तामध्ये सात जनाको मृत्यु भएको हो भने अन्य ६ जना सम्पर्कविहीन रहेका छन् ।

सडक, मन्दिर, घर निर्माणमा ज्यालामजदुरीको काम गर्न पुगेका नागरिक सम्पर्कविहीन भएका छन् । भारतको उत्तराखण्ड उत्तरकाशी जिल्लाको हर्सिल उपत्यकामा मङ्गलबार गएको बाढिपहिरोबाट धराली गाउँमा ठुलो धनजनको क्षति भएको थियो । सो बाढीपहिरोमा परी जाजरकोटका सात जनाको मृत्यु भएको हो ।

advertisement

कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार भारतको उत्तराखण्डमा ज्यालामजदुरी गर्न गएका कुशे गाउँपालिका–२ टालेगाउँका अन्दाजी ४२ वर्षीय कर्णबहादुर सिंह, अन्दाजी ४२ वर्षीय रामबहादुर सिंह, अन्दाजी ४५ वर्षीय मानबहादुर सिंह, अन्दाजी ३५ वर्षीय निमबहादुर सिंह, अन्दाजी २४ वर्षीय रविन सिंह र जुम्ला जिल्ला तातोपानी गाउँपालिका घर भई ससुरालीमा बस्दै आएका जनकबहादुर शाही, रुकुमपश्चिम घर भई ससुरालीमा बस्ने नाम नखुलेका एक व्यक्तिको मृत्यु भएको छ ।

गाउँपालिकाले बिहीबार शोक विज्ञप्ति जारी गरी १३ जनाभन्दा बढी व्यक्ति सम्पर्कविहीन भएको जानकारी दिएको छ ।

ज्यालामजदुरीको खोजीमा भारत पुगेका उनीहरुको मृत्यु भएपछि घरपरिवार चिन्तित भएका छन् ।

भारतमा बेपत्ता नागरिकको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन कुशे गाउँपालिकाले नेपाल सरकार, परराष्ट्र मन्त्रालयमार्फत पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com