काठमाडौं । गत आर्थिक वर्ष २०८१र८२ मा नेपालले भारत र बङ्गलादेशमा गरी साढे १७ अर्ब रुपियाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणले सो अवधिमा भारतमा करिब १७ अर्ब १९ करोड रुपियाँ र र बङ्गलादेशमा २६ करोड ६७ लाख रुपियाँ बराबरको विद्युत् बिक्री गरेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

गत वर्ष भारतबाट १२ अर्ब ९२ करोड रुपियाँ बराबरको विद्युत् आयात गरिएको छ । यस अनुसार नेपालले विद्युत् व्यापारमा खुद निर्यातक बन्न सकेको छ । विद्युत् व्यापारमा नेपाललाई प्राप्त भएको यो उपलब्धिले ऊर्जा कूटनीति र आर्थिक समृद्धितर्फको यात्रामा महत्वपूर्ण कोसेढुङ्गा साबित भएको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बताए ।

advertisement

यो आर्थिक प्रगति निर्यातको परिमाणले मात्र नभई व्यापार सन्तुलनका हिसाबले पनि महत्वपूर्ण छ । यसले नेपाललाई ‘खुद आयातकर्ताबाट ‘खुद निर्यातकर्ता’ बन्ने यात्रामा थप मद्दत पुगेको मन्त्री खड्काको भनाइ छ । बङ्गलादेशसँग भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ ।

वर्षायाममा पानीको बहाव बढ्ने र उत्पादन बढ्ने समयलाई लक्षित गर्दै प्रतिस्पर्धी मूल्यमा भारतीय ऊर्जा बजारमा डे अहेड र रियल टाइम मार्केटमा निर्यात गर्ने गरिएको छ । साथसाथै भारतमा एनभिभिएनमार्फत मध्यकालीन सम्झौताका आधारमा पनि विद्युत् व्यापार हुने गरेको छ । नेपालले अहिले भारतको विभिन्न राज्यमा दैनिक सात सय मेगावाटभन्दा बढी विद्युत् निर्यात गरिरहेको जनाइएको छ ।

 

प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com