काठमाडौं । परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतको उत्तराखण्डमा आएको भीषण बाढी र पहिरोका कारण हराइरहेका नेपाली नागरिकहरूको उद्धार र खोजीका लागि नेपाल सरकारद्वारा कूटनीतिक पहल अघि बढाइएको जानकारी दिएकी छिन्।
शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत मन्तव्य जारी गर्दै मन्त्री राणाले उत्तराखण्डमा केही दिनअघि आएको प्राकृतिक विपत्तिमा नेपाली नागरिकसमेत बेपत्ता भएको खबरले आफू अत्यन्त मर्माहत भएको उल्लेख गरेकी छिन्।
‘बेपत्ता नेपालीहरूको खोजी र उद्धार कार्यमा नेपाली राजदूतावास, नयाँ दिल्लीलाई भारत सरकारसँग समन्वय गर्दै तुरुन्त र प्रभावकारी रूपमा परिचालन गर्न निर्देशन दिइसकेको छु,’ उनले लेखेकी छन्।
मन्त्री राणाले विपत्तिमा परेर ज्यान गुमाएका सबैप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेकी छिन्।
उनले संकटको यस घडीमा नेपाल सरकार नेपाली नागरिकको सुरक्षाका लागि प्रतिबद्ध रहेको पनि स्पष्ट पारेकी छन्।

प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया