काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कडा आरोप लगाउँदै कारागारबाट बाहिरिन गरिएको प्रयासलाई ‘नयाँ नौटङ्की’को संज्ञा दिएका छन्।
सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ प्रयोग गरी अदालतमा बिगो बराबरको बैंक ग्यारेन्टी बुझाउने प्रयाससँगै नयाँ रणनीति अघि सारेको भन्दै बस्नेतले आलोचना गरेका हुन्।
‘रवि लामिछानेले कानुनी जटिलताको आडमा चतुर खेल खेल्न खोजेका छन्,’ बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर यो कुनै नयाँ राजनीति होइन, न नै नैतिक साहस हो, यो त सिर्फ़ ‘नयाँ नौटङ्की’ मात्र हो।’
उनले जनताले तर्क होइन, न्याय खोजेको पनि स्मरण गराएका छन्। ‘बैंक धरौटी देखाएर मुद्दाबाट उम्किन खोज्नु जनताको आँखामा अझै शंकास्पद छवि निर्माण गर्ने काम हो,’ उनले भनेका छन्, ‘अदालतलाई त क्षणिक प्रभाव पार्न सकिएला, तर पीडितको पीडामा मलम लगाउने न्याय भने यसरी दिलाउन सकिँदैन।’
बस्नेतले लामिछानेको पछिल्लो कदमले सहकारी ठगी प्रकरणको दोस्रो अध्याय सुरु भएको टिप्पणीसमेत गरेका छन्।

प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया