काठमाडौं । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको गिरफ्तारीमा सहयोग पुर्याउनेलाई ५ करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ।
यसअघि मादुरोको पक्राउका लागि जानकारी दिने व्यक्तिलाई २ करोड ५० लाख डलर दिने घोषणा गरिएकोमा, उक्त पुरस्कार रकम अहिले दोब्बर पारेर ५ करोड डलर पुर्याइएको अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले जनाएका छन्।
अमेरिकी प्रशासनले मादुरोमाथि विश्वका ठूला लागूऔषध तस्करमध्ये एक भएको गम्भीर आरोप लगाउँदै आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि मादुरोका प्रखर आलोचक रहँदै आएका थिए।
सन् २०२५ को जनवरीमा भेनेजुएलामा भएको विवादास्पद निर्वाचनपछि मादुरो पुनः सत्तामा फर्किएका थिए। तर उक्त निर्वाचनलाई अन्तर्राष्ट्रिय समुदायले व्यापक आलोचना गरेको थियो।
यसैबीच, भेनेजुएलाका विदेशमन्त्री इभान गिलले अमेरिकाले घोषणा गरेको पुरस्कारलाई “राजनीतिक प्रचारबाजी” भन्दै खारेज गरेका छन्। उनले यसलाई अर्थहीन र अनैतिक कदम भनेका छन्।
प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया