हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी साउन २७ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। नेकपा (एमाले) र नेपाली कांग्रेसबीचको गठबन्धनबाट सत्ताको नेतृत्व सम्हालेका बानियाँले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता अनुरूप संसद् बैठक बोलाउन प्रदेशसभा सचिवालयमा औपचारिक जानकारी गराइसकेका छन्।
मुख्यमन्त्री बानियाँ साउन २० गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए। अब धारा १६८ को उपधारा (४) र प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम संसदबाट विश्वासको मत लिनुपर्नेछ।
प्रदेशसभा सभामुख भुवनकुमार पाठकका अनुसार मुख्यमन्त्रीको प्रस्तावअनुसार संसद् बैठकको मिति तोकिएको भए पनि औपचारिक पत्र सचिवालयमा दर्ता हुने प्रक्रियामा रहेको छ। उनले पत्र आएपछि बैठकको समय तय गरिने जानकारी दिएका छन्।
कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका बानियाँले आफ्नै दलका नेता बहादुरसिंह लामामाथि अविश्वास प्रस्ताव दर्ता गराई पराजित गर्दै संसदीय दलको नेता बनेका थिए। त्यसपछि कांग्रेस र एमालेको समर्थनमा उनले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका हुन्।
कुल ११० सदस्यीय बागमती प्रदेशसभामा बानियाँको पक्षमा कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको छ। सत्तामा पुगेपछि उनले साउन १२ गते एक विना विभागीयसहित कांग्रेसका २ र एमालेका ६ जना मन्त्रीलाई मन्त्रिपरिषद्मा समेटेका छन्।
बागमती प्रदेशमा जम्मा १४ मन्त्रालय छन्। गठबन्धनको सहमतिअनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ८ र एमालेले ६ मन्त्रालयको जिम्मेवारी लिने सहमति भएको छ। हाल बाँकी रहेका ६ मन्त्रालयको जिम्मा अस्थायी रूपमा मुख्यमन्त्री बानियाँ आफैंले सम्हालेका छन्।
सरकारलाई पूर्णता दिनु अगावै बानियाँले विश्वासको मत लिन लागेका हुन्, जसबाट उनले गठबन्धन स्थायित्वको सन्देश दिन खोजेको देखिएको छ।
प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया