बारा । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भारतसँगको सिँचाइ सम्झौताअनुसार आवश्यक पानी नमाग्नु प्रधानमन्त्री केपी शर्मा ओलीको ‘राष्ट्रघाती कार्य’ भएको आरोप लगाएका छन्।
शुक्रबार बाराको कलैयामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष साहले नारायणी र कोशी सिँचाइ आयोजना अन्तर्गत नेपालले पाउनु पर्ने पानी नआउँदा समेत प्रधानमन्त्री मौन बस्नु गम्भीर राष्ट्रघाती कदम भएको टिप्पणी गरे।
“नेपाल–भारत सिँचाइ सम्झौता अनुसार पानी माग्नु प्रधानमन्त्रीको जिम्मेवारी हो,” अध्यक्ष साहले भने, “तर गण्डक नहरबाट आउने पानीको १० प्रतिशत पनि नेपालले नपाइरहँदा प्रधानमन्त्री चुप लागेर बस्नु राष्ट्रघाती होइन भने के हो?”
उनले सिधा रूपमा ओलीलाई सम्बोधन गर्दै भने, “तपाईं राष्ट्रवादी हो भने भारतसँग पानी किन माग्नुभएन? किसानले आफ्नो भागको पानी नपाउनु तपाईंको लापरवाही हो।”
साहले मधेस क्षेत्रमा वर्षेनी सिँचाइ अभावका कारण धान रोपाइँमा समस्या भइरहँदा पनि सरकार मौन रहेको भन्दै आक्रोश पोखे। “दुई तिहाइको सरकार भएर पनि जनताको पक्षमा काम नगर्ने, विपद्को घोषणामात्र गरेर राहत नपु-याउने सरकारले जनतालाई झनै पीडामा पारेको छ,” उनले भने।
राहत प्याकेज बिना मधेसलाई सुक्खा क्षेत्र घोषणा गर्नु सरकारको ‘नालायकीपन’ भएको टिप्पणी गर्दै साहले सरकारको काम ‘मृत्युशय्यामा पुगेको’ जस्तो देखिएको बताए।
उनले प्रधानमन्त्री ओलीलाई सत्ताको आडमा राष्ट्रहित बेच्ने प्रवृत्ति नदोहोर्याउन चेतावनी समेत दिए। “केपी ओलीजी, तपाईँको राष्ट्रघाती प्रवृत्ति अब सह्य हुँदैन,” उनले भने, “यदि तपाईंको शरीरमा अलिकति पनि नेपालको माटोको गन्ध छ भने, आफ्नो हक माग्न सक्नुपर्छ।”
प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया