काठमाडौ ।  कार्यवाहक प्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारमा निर्माणाधीन नयाँ संघीय संसद भवनको काममा विगतका कमीकमजोरी दोहोरिन नदिने गरी मन्त्रालयले कडा रूपमा काम गरिरहेको जानकारी दिनुभएको छ।

संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको शुक्रबारको बैठकमा उहाँले निर्माणाधीन संसद भवनको कार्यतालिका र त्यसको पालना गर्ने मन्त्रालयको तयारीबारे छलफल गर्नुभएको थियो।

advertisement

कार्यवाहक प्रधानमन्त्री सिंहले समयमै काम सम्पन्न नहुने भए कन्ट्राक्टरहरूलाई मन्त्रालयले कडाइ गर्ने समेत बताउनुभयो। “नयाँ संसद भवनको काम समयमै नसकिएको सबैलाई थाहा छ। त्यसैले तोकिएको समयमा काम नगर्नेहरूलाई कडाइ गरिरहेका छौं। यो कामलाई कीर्तिपुर क्रिकेट स्टेडियममा जस्तै जरिवाना लगाएर नियन्त्रण गरिरहेका छौं,” उहाँले भन्नुभयो।

सिंहले थप गर्नुभयो, “संसद भवनको काम निश्चित कार्यतालिकाअनुसार अघि बढिरहेको छ र विगतका कमजोरीहरू दोहोरिन नदिने गरी सम्पूर्ण सरोकारवालालाई निर्देशन दिइसकिएको छ। मन्त्रालय, इन्जिनियर, महानिर्देशक र आयोजना प्रमुख सबैलाई काम समयमै सक्न आग्रह गरिएको छ।”

मन्त्रालयका सचिव गोपाल सिग्देलले पनि पुस दोस्रो साता संसद भवनको निर्माण सम्पन्न गर्ने गरी कन्ट्राक्टरले कार्यतालिका बनाएर काम गरिरहेको र आगामी अधिवेशन नयाँ संसद भवनबाट सञ्चालन गर्ने योजना अनुसार काम अघि बढेको जानकारी समितिलाई दिएका थिए।

समितिका सदस्यहरूले पनि आगामी अधिवेशन नयाँ संसद भवनबाटै संचालन गर्न सकिने गरी निर्माण छिटो सक्नुपर्नेमा जोड दिएका थिए।

प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com