काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय चमतिमा बसिरहेको छ। बैठकमा कुल १३ बुँदे कार्यसूचीमा समसामयिक राजनीतिक तथा पार्टीका विविध गतिविधि विषयमा व्यापक छलफल भइरहेको छ।
केन्द्रीय प्रवक्ता मनिष झाकाका अनुसार बैठकमा केन्द्रीय विभागको प्रगति रिपोर्ट, संसदीय दलको रूपन्देही बैठक र उपनिर्वाचन अपडेट, रूपन्देही संगठनको अवस्था तथा कुलिङ अफ पिरियडमा भएको अनियमितता छानबिन प्रतिवेदनमाथि पनि विचार हुँदैछ।
प्रदेश इन्चार्जहरूले आफ्ना प्रदेशगत रणनीतिको सार प्रस्तुत गर्ने कार्यसूचीमा रहेका छन् जहाँ हरेक इन्चार्जले तीन मिनेटसम्म आफ्नो रिपोर्ट राख्ने व्यवस्था गरिएको छ। साथै, केन्द्रीय सदस्यहरूले पनि दुई मिनेटभित्र आफ्नो रिपोर्ट पेश गर्नेछन्।
पार्टी सचिवालय बैठकका निर्णयहरूमा छलफल र अनुमोदन गर्ने कार्यक्रम पनि बैठकमा रहेको छ। त्यस्तै, विधान व्याख्या र केन्द्रीय विभाग प्रमुखहरूको मनोनयनसमेत गर्ने तयारी छ।
पूर्व केन्द्रीय सदस्यहरूको पुनः जिम्मेवारी दिने प्रस्तावमाथि छलफल हुने र केही सदस्यहरू जस्तै राकेश यादव सक्रिय नभएकाले पुनः जिम्मेवारी दिने विषयमा निर्णय हुने अपेक्षा गरिएको छ।
बैठकमा पार्टीको निर्वाचन आयोगमा मनोनयन तथा रणनीतिक समूह गठनबारे पनि विचार गरिनेछ। संगठन सशक्तिकरणका लागि केन्द्रीय समिति र विभागहरूलाई थप जिम्मेवारी दिने विषयमा छलफल हुनेछ।
त्यस्तै, विदेशमा रहेका नेपाली नागरिकहरूको मताधिकार सुनिश्चित गर्न पहल गर्ने र सरकार तथा सम्बन्धित निकायलाई यस विषयमा ध्यानाकर्षण गराउने विषयमा पनि छलफल हुने बताइएको छ।
सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनस्तरबाट हस्ताक्षर संकलनको प्रगति र अभियानलाई थप प्रभावकारी बनाउने विषयमा समेत बैठकमा विचार हुने छ।
अन्ततः अधिवेशन प्रतिनिधि छनोट, मधेश प्रदेशमा सहमहामन्त्री सिफारिस, पार्टी केन्द्रीय कार्यालयको अनुमानित बजेट प्रस्तुत र सांसदहरूको लेबीबारे पनि छलफल हुने अध्यक्षले बताए।
बैठकबाट आउने निर्णयले रास्वपाको आगामी रणनीति र संगठन व्यवस्थापनमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया