काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालको पहिचानका रूपमा रहेका राजसंस्था र हिन्दुराष्ट्रलाई विदेशी शक्तिको इसारामा “एम्बुस” मा पारिएको आरोप लगाएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले नेपाली जनताको अभिमतविना जबरजस्ती लादिएका एजेन्डाले मुलुकको हित नगर्ने बताए। संघीयता जनताले नबुझेको दाबी गर्दै थापाले यसको नाममा मुलुकले “सेतो हात्ती” पाल्न नसक्ने स्पष्ट गरे।
उनका अनुसार २०६२/०६३ को परिवर्तनको समयमा विदेशी दबाब र प्रभाव प्रत्यक्ष देखेको अनुभव आफूलाई रहेको छ। हालको राजनीतिक वातावरणमा सिद्धान्तविहीन, भ्रष्ट र ठगहरू हावी भएको भन्दै उनले राप्रपा नेपालको विचारधाराबाट मात्र मुलुकलाई स्वाधीन र समृद्ध बनाउन सकिने धारणा व्यक्त गरे।
थापाले सम्वर्द्धनवादलाई मुलुकको एक मात्र विकल्प बताउँदै राप्रपा नेपाललाई वैकल्पिक राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा डा. बालकृष्ण दाहाल, डा. सुदर्शन सुवेदी, अर्थविद् प्रकाश थापा, कृषि विज्ञ अश्विन आचार्य, विष्णु तिवारीलगायतलाई पार्टीमा स्वागत गरिएको थियो।
प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया