काठमाडाैं । उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा आएको भारी वर्षा र बाढीका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ भने ३३ जना अझै बेपत्ता छन्।
सरकारी प्रसारक सीसीटीभीले अगस्ट ७ देखि निरन्तर परेको भारी वर्षाको कारण प्रान्तका विभिन्न क्षेत्रमा बाढी र डुबानको अवस्था सिर्जना भएको र अगस्ट ८ को अपराह्न ३:३० बजेसम्मको तथ्यांक सार्वजनिक गरेको छ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले बेपत्ताहरूको उद्धारमा सबै सम्भव प्रयास गर्न आदेश दिएका छन्। उनले चरम मौसमको बारम्बार दोहोरिने घटनालाई मध्यनजर गर्दै सबै क्षेत्रहरूलाई जोखिम व्यवस्थापनमा कडा सतर्कता अपनाउन निर्देशन दिएका छन्।
सोम्वोमा चिनियाँ अग्नि नियन्त्रक अधिकारीहरूले साझा गरेको उद्धार दृश्यमा बाढीले प्रभावित गाउँमा उद्धारकर्ताहरूले मानिसहरूलाई सुरक्षित स्थानतर्फ लैजाने प्रयास गरिरहेको देखाइएको छ। गान्सु सरकारले सार्वजनिक गरेको तस्बिरमा सडकहरू बाढी र ठूला ढुङ्गाले थुप्रिएको अवस्थामा देखिएका छन्।
चीनमा वर्षा याममा हुने प्राकृतिक प्रकोपहरूले प्रायः ठूलो जनधनको क्षति पुर्याउने गरेको छ। गत महिनामा बेइजिङमा भएको भारी वर्षाले ४४ जनाको ज्यान गएको थियो।
चीन विश्वकै सबैभन्दा ठूलो हरित गृह ग्याँस उत्सर्जक देश हो र यसको कारणले जलवायु परिवर्तनको प्रभाव तीव्र हुन पुगेको छ। तर, चीन नवीकरणीय ऊर्जा विकासमा समेत अग्रणी भूमिका निर्वाह गर्दै सन् २०६० सम्म कार्बन–तटस्थ बन्ने लक्ष्य लिएको छ।
प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया