काठमाडाैं । कलाकार राजु पौडेल (राजु मास्टर) ६ वर्षपछि चर्चित हास्य टेलिसिरियल ‘मेरी बास्सै’ मा पुनः फर्किएका छन्। आगामी साताबाट प्रसारण हुने ‘मेरी बास्सै’ को लेखन र निर्देशनको जिम्मेवारी समेत उनले लिएका छन्। साथै, सिरियलमा अभिनय पनि गर्नेछन्।
मिडिया हबको प्रस्तुतीकरणमा १९ वर्षको लामो यात्रा तय गरेको ‘मेरी बास्सै’ बाटै राजुले आफ्नो कलाकारिताको सुरुवात गरेका थिए। सुरुवाती १२ वर्षसम्म निरन्तर अभिनय गरेका राजु केही समयका लागि ६ वर्षसम्म अन्य सिरियलहरूमा लागे। अब फेरि आफ्नै घर ‘मेरी बास्सै’ मा फर्किन पाउँदा उनी अत्यन्त खुशी र जिम्मेवार महसुस गरिरहेका छन्।
राजुले भने, “मेरी बास्सै मेरो घरजस्तो हो। यही ठाउँले मलाई कलाकारिताको पाठ पढाएको हो। यहाँ फर्कन पाउँदा खुसी लागेको छ। लेखन र निर्देशनको जिम्मेवारी पनि मैले सम्हालेको हुँदा चुनौतीपूर्ण छ।”
उनले पछिल्लो समय ‘सकस’ नामक सिरियलमा लेखन, निर्देशन, अभिनय र निर्माणको काममा संलग्न थिए र त्यहाँबाट राम्रो अनुभव पनि सँगालेका छन्। ‘मेरी बास्सै’ को ९२३ औं भागदेखि उनी लेखन र निर्देशनको जिम्मेवारी सम्हाल्नेछन्।
राजु अनुसार, यसपटक सिरियल नयाँ कथाबाट अगाडि बढ्नेछ। उनी भन्छन्, “हामीले चार भागको छायांकन सम्पन्न गरिसकेका छौं। छायांकनको मुख्य स्थल धादिङको ज्वालामुखी गाउँपालिकाको वडा नं. ५, खरी भदुवार रहेको छ।”
उनले ‘मेरी बास्सै’ मा ६ वर्षअघिको परिवारसँगै फर्किएको बताए। उनीसँगै मास्टर्नीको भूमिकामा अनिता बस्नेत र सालीको भूमिकामा सबिना आचार्य (सबु) छन्।
त्यसैगरी रामचन्द्र अधिकारी (गोक्ते काजी), सुरबिर पण्डित (दाह्री बा), पल्पसा डंगोल (चम्सुरी), निरु खड्का (निर्मली), दिपेन्द्र तिमल्सिना (बालक), साया भण्डारी (राधिका), मुकेश हमाल (सुन्दरे), यादव थापा (ब्याज प्रसाद) लगायतका कलाकारहरू पनि ‘मेरी बास्सै’ मा अभिनय गर्दैछन्।
सिरियलको छायांकन घनश्याम पोखरेल र ज्ञान कुमार कट्टेलले गर्नेछन् भने सम्पादनको जिम्मेवारी रविन्द्र भट्ट र अशोक चौधरीले सम्हाल्नेछन्। व्यवस्थापन कार्य उज्जवल खड्काको जिम्मामा छ।
प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया