काठमाडाैं । गाजा क्षेत्रमा जारी युद्ध, घरबारविहीनता र भीषण गर्मीबीच स्थानीयवासीको दैनिक जीविकोपार्जन लगभग असम्भवजस्तै बन्दै गएको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार गाजावासी अहिले अत्यन्त कठोर र असह्य परिस्थितिमा बाँच्छन्।

खानेकुरा, पिउने पानी र औषधीजस्ता अत्यावश्यक सामग्रीको चरम अभाव भएको छ। राहत सामग्री गाजामा प्रवेश गर्ने गति अत्यन्त ढिलो हुँदा मानव संकट थप गहिरिएको ओसीएचएले जनाएको छ।

advertisement

गाजाको दक्षिणी भागस्थित समुद्री पानीलाई पिउनयोग्य बनाउने संयन्त्रको विद्युत् आपूर्ति लाइन यसै साताभित्र तेस्रोपटक क्षतिग्रस्त भएको छ। परिणामस्वरूप उक्त केन्द्रले आफ्नो कुल क्षमताको १४ प्रतिशतभन्दा कम मात्र सञ्चालन गर्न सकिरहेको छ।

केही व्यावसायिक गाडीहरू प्रवेश गरेपछि केही खाद्यान्नको मूल्य घटेको भए पनि अधिकांश वस्तु अझै महँगो छन् र सहजै पाइँदैनन्। हवाईमार्फत खसालिने राहत सामग्रीका कारण केही स्थानमा सर्वसाधारणको मृत्यु वा घाइते हुने घटनासमेत भइरहेको ओसीएचएले जनाउँदै, राहत आपूर्ति गर्न स्थलमार्ग नै सबैभन्दा सुरक्षित र प्रभावकारी विकल्प भएको स्पष्ट पारेको छ।

यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफनी ट्रेम्ब्लेले जारी गरेको विज्ञप्तिमा, गाजा सहरमा नियन्त्रण लिने इजरायली निर्णयप्रति महासचिवको गम्भीर चिन्ता व्यक्त गरिएको छ। उक्त कदमले अवस्था झन् भयावह बनाउने, नागरिकको ज्यान जोखिममा पार्ने र लाखौँ मानिसमाथि थप विनाश ल्याउने चेतावनी महासचिवले दिएका छन्।

ओसीएचएले सबै नाकाबाट र सम्भव सबै मार्ग हुँदै राहत सामग्रीको निर्बाध प्रवेश सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै, त्यस्तो व्यवस्थामार्फतमात्र सहायता व्यापक रूपमा पुग्न सक्ने जनाएको छ।

प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com