काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले गाजामा खाद्य संकट र मानवीय अवस्थाका विषयमा गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल राहत पुर्‍याउनुपर्ने धारणा राखेका छन्।

सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्वीटर) मा ओबामाले लेख्दै गाजाका निर्दोष नागरिकलाई खाना र पानीबाट वञ्चित राख्नु कुनै हालतमा उचित नहुने बताएका हुन्। “भोक, कुपोषण र अनिकालको चपेटामा परेका गाजाका मानिसहरूको पीडामा संसार मौन रहन मिल्दैन,” उनले लेखेका छन्।

ओबामाले गाजाको संकटको दिगो समाधानका लागि दुई पक्षीय कदम आवश्यक भएको उल्लेख गर्दै इजरायली बन्धकहरूको सुरक्षित रिहाइ र इजरायलको सैन्य आक्रमणको अन्त्य अपरिहार्य रहेको बताए। उनले निर्दोष नागरिकहरूको ज्यान जोगाउन यथाशीघ्र अन्तर्राष्ट्रिय तहमा कारबाही आवश्यक भएको धारणा राखे।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गाजामा कुपोषण चिन्ताजनक रुपमा फैलिएको र बालबालिका तथा कमजोर वर्ग जोखिममा रहेको चेतावनी दिइसकेको छ। खाद्यान्न अभावका कारण गाजामा अनिकालजस्तो भयावह स्थिति उत्पन्न भएको छ।

यसैबीच, जोर्डन र संयुक्त अरब इमिरेट्स (युएई)ले आइतबार गाजामा हवाईमार्गबाट राहत सामग्री खसालेका छन्। इजरायली सेनाले पनि केही भागमा दैनिक १० घण्टासम्म सैन्य कारबाही स्थगन गर्ने र संयुक्त राष्ट्र संघमार्फत मानवीय सहायता पुर्‍याउन एक ‘कोरिडोर’ खोल्ने जनाएको छ।

गाजाको संकट गहिरिँदै जाँदा ओबामासहित विश्व नेताहरूको आह्वानले मानवीय सहायताको आपूर्तिमा केही राहत मिल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com