काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका घटनामा बधाई दिएका छन्। बिहीबार कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन्।

शर्माले भने, “हाम्रो भित्रको छलफलमा यही उपयुक्त समय भएको निष्कर्षमा पुगियो – रामहरि जीले पद छोड्नु नै उत्तम हुन्छ। उहाँले त्याग गर्नुभयो, राम्रो उदाहरण पेश गर्नुभयो र एउटा सन्देश पनि स्पष्ट रूपमा गयो। उहाँलाई सम्मान र बधाई दिन चाहन्छु।”

अब समितिको सभापति पद खाली भएपछि त्यसमा राज्य व्यवस्था समितिमा कार्यरत अन्य योग्य सांसदमध्येबाट नयाँ सभापति चयन गरिनेछ। शर्मा अनुसार, “उहाँहरू सबै सुयोग्य साथीहरू हुनुहुन्छ। कसलाई छान्ने भन्ने निर्णय चाँडै सल्लाह गरेर गरिनेछ।”

महामन्त्री शर्माले आफू सभापति पदको दौडमा रहेको भन्ने समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारे। उनले भने, “यदि म सभापति बन्ने सोचमा भएको भए रामहरि जीले पालो पुर्‍याएपछि नभई पहिल्यै बन्ने थिएँ। मन्त्री बन्ने मौका पनि पहिल्यै आउँथ्यो।”

यसअघि निजामती कर्मचारी विधेयकमा ‘कुलिङ अफ पिरियड’सम्बन्धी संशोधनको छानबिन गर्न गठित संसदीय छानबिन समितिले तत्कालीन सभापति खतिवडालाई दोषी भनेको थिएन, तर नैतिक जिम्मेवारी रहेको औँल्याएको थियो। सोही विषयलाई लिएर कांग्रेसभित्र विभिन्न मत बनेका थिए।

अन्ततः, खतिवडाले मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै नैतिकताका आधारमा राजीनामा दिने निर्णय गरेका थिए।

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com