गाजाको नागरिक सुरक्षा विभागले आइतबार इजरायली हवाई आक्रमण र गोलीबारीमा कम्तीमा १८ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको जनाएको छ ।
प्रवक्ता महमुद बास्सालका अनुसार, गाजा सिटीको एक अस्पतालको आँगनमा ड्रोन आक्रमण हुँदा सात जनाको ज्यान गएको हो । ती मृतकहरू हमासका सदस्य रहेको जनाइएको छ, जो खाद्यान्न वितरण र सुरक्षाको जिम्मेवारीमा रहेका थिए ।

दक्षिण गाजाको खान युनिस क्षेत्रमा विस्थापितहरू बसोबास गरिरहेको एउटा टेन्टमा आक्रमण हुँदा थप चार जनाको ज्यान गएको छ ।
त्यस्तै, सहायता वितरण केन्द्र नजिकै इजरायली सेनाको गोली लागेर दक्षिण गाजामा ६ जनाको मृत्यु भएको बास्सालले बताए । मध्य गाजामा पनि एक व्यक्ति सहायता लिन गएका बेला मारिएका छन् ।

advertisement

इजरायली सेना हाल गाजा सिटीको जैतुन क्षेत्रमा ठूलो सैन्य कारबाही गर्दैछ । एक सातादेखिको यो अपरेशनले ठूलो जनधनको क्षति गराएको बताइए पनि उद्धार टोलीहरू निरन्तर आक्रमण र साधनको अभावका कारण पीडितहरूसम्म पुग्न सकिरहेका छैनन् ।
संयुक्त राष्ट्रसंघ समर्थित विज्ञहरूले गाजामा गम्भीर खाद्य संकट र दुर्भिक्षको चेतावनी दिएका छन् । इजरायलले मानवीय सहयोगको आपूर्ति कडाइ गरेकाले समस्या झन गहिरिँदै गएको हो ।

यसैबीच, इजरायली रक्षा मन्त्रालयले गाजा सिटीबाट नागरिकहरूलाई सुरक्षित क्षेत्रतर्फ सार्न नयाँ तयारी थालिएको जनाएको छ । तर हमासले यसलाई गाजा सिटीमाथि कब्जा जमाउने योजनाको रूपमा व्याख्या गर्दै विरोध जनाएको छ ।
यो युद्ध सन् २०२३ को अक्टोबरमा हमासले इजरायलमा गरेको आक्रमणबाट सुरु भएको थियो, जसमा एक हजार २१९ इजरायलीको मृत्यु भएको थियो । त्यसपछि सुरु भएको इजरायली कारबाहीमा हालसम्म ६१ हजार ८९७ भन्दा बढी प्यालेस्टिनी मारिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसंघले यस तथ्याङ्कलाई विश्वसनीय मानेको छ।

  • एजेन्सी

प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com