काठमाडौं ।  सत्तारूढ नेकपा (एमाले) का सांसद सूर्य थापाले प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीको प्रतिनिधिसभामा गरिएको अभिव्यक्तिप्रति नियमापत्ति जनाएका छन्।

बुधबार प्रतिनिधिसभामा कार्कीले उपसभामुख इन्दिरा रानामगरलाई महाभियोग लगाउने प्रयासमा कांग्रेस र एमालेले हस्ताक्षर संकलन गरेको विषयमा अभिव्यक्ति दिएकी थिइन्। उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले ठगी गरेको तर कारबाही नभएको, तर उपसभामुखलाई महाभियोग लगाउने प्रयास भइरहेको आरोप लगाएकी थिइन्।

advertisement

उनले भनिन्, “उपसभामुखले सिफारिस मात्रै गरेको, त्यो पनि समय अगाडि सार्नका लागि गरेको सिफारिसमा महाभियोग लगाउने कुरा गरिएको छ। खाली कागजमा हस्ताक्षर गराउने कस्तो पार्टी? हस्ताक्षर गर्ने कस्ता सांसद? धिक्कार छ।”

सांसद थापाले कार्कीको उक्त अभिव्यक्तिप्रति प्रतिनिधि सभा नियमावली २१(घ) अनुसार नियमापत्ति जनाउँदै, आरोपपूर्ण, लाञ्छनापूर्ण, गालीगलौजपूर्ण र अपमानजनक अभिव्यक्तिलाई सभामुखबाट निषेध गर्नुपर्ने बताए।

थापाले थपे, “कस्ता सदस्य भनेर रेकर्डबाट हटाउनुपर्छ। मण्डलेतन्त्रविरूद्ध लडेर यो संसदमा आएका सार्वभौम जनताका प्रतिनिधि हौं। जनताबाट निर्वाचित हौं। कस्तो कागजमा सही गर्छौं भन्ने कुरा हामी बुझेर, जानेर मात्र गर्छौं।”

प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com