काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अमेरिका र रूसबीचको सम्बन्ध सुध्रिनेमा आशावादी देखिएका छन् । उनले दुई देशको सम्बन्ध राम्रो हुने आशाको किरण देखिएको बताएका छन् ।

दुवै देशले आर्कटिक र अलास्काका परियोजनाहरूमा सहकार्यको सम्भावना खोजिरहेका छन् । रूसको आणविक उद्योगको ८० औँ वार्षिकोत्सवको अवसरमा निज्नी–नोभगोरोदको भोल्गा क्षेत्रमा रहेको सारोभको आणविक उद्योगका कर्मचारीहरूसँगको एक बैठकमा पुटिनले रूस–अमेरिका सम्बन्ध हालैका वर्षहरूमा सबैभन्दा तल्लो बिन्दुमा पुगेको स्वीकार गरे ।

advertisement

पुटिनले भने, “अमेरिकासँगको हाम्रो सम्बन्ध धेरै खराब छ । मैले यो कुरा धेरै पटक भनिसकेको छु । यद्यपि, अहिले राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आएपछि आशाको किरण देखिन थालेको छ ।”

सोभियत आणविक कार्यक्रमको उद्गमस्थल मानिने सरोभ सहरमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका र रूसको सम्बन्ध सुध्रिनेमा आशावादी रहेको बताएका छन् ।

पुटिनले रूस र अमेरिकाले आर्कटिक र अलास्कामा मिलेर काम गर्ने सम्भावनाबारे छलफल गरिरहेको बताए । उनले यस्ता देशहरू छन्, जो सार्वभौमिकताबिना पनि सजिलै अस्तित्वमा रहनसक्ने बताए ।

पुटिनले पश्चिमी युरोपमा यथार्थमा सार्वभौमिकता नरहेको बताएका छन् । तर, रूस सार्वभौमिकतामा सम्झौता गर्न तयार नरहेको उनले बताएका छन् । यदि, रूसले आफ्नो सार्वभौमिकता गुमाए त्यसको वर्तमान स्वरूप समाप्त हुने उनको टिप्पणी छ ।

उनले देशको आणविक सुरक्षामा संलग्न रुसी आणविक वैज्ञानिकहरूको भूमिकाको प्रशंसा गरे, जसका कारण देशले शान्तिपूर्ण प्रविधि हासिल गरेको छ । पुटिनले आणविक उद्योग हाम्रो लागि सबैभन्दा महत्वपूर्ण क्षेत्रहरूमध्ये एक भएको बताए ।

उनका अनुसार रूसको अर्को ठूलो चुनौती कृत्रिम बौद्धिकता (एआई) हो । उनले एआईमा आधारित प्रविधिमा अगाडि रहन काम गर्नुपर्ने बताएका छन् ।

यसअघि, १५ अगस्टमा अलास्का शिखर सम्मेलनपछि पुटिनले ट्रम्प ह्वाइट हाउसमा भएको भए रूस–युक्रेन युद्ध सुरु हुने थिएन भन्ने ट्रम्पको दाबीलाई समर्थन गरेका थिए । गत हप्ता, ट्रम्पले अलास्कामा पुटिनसँग भेट गरेका थिए र वार्ताबाट सन्तुष्टि व्यक्त गरेका थिए ।

शिखर सम्मेलन अघि रुसी राष्ट्रपतिले ट्रम्प रूस–युक्रेन युद्ध ट अन्त्य गर्न गम्भीर रहेको र रूसले उनको प्रशासनसँग मिलेर काम गर्नुपर्ने आफ्ना सहयोगीहरूसँग भनेका थिए ।

यो हप्ताको सुरुमा ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र ह्वाइट हाउसमा धेरै युरोपेली नेताहरूसँग भेट गरेका थिए । जेलेन्स्कीले युक्रेन युद्धको अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग त्रिपक्षीय बैठक गर्न आफू खुला रहेको संकेत दिएका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रबार युक्रेन युद्ध अन्त्य गर्ने शान्ति प्रयासका लागि महत्वपूर्ण निर्णय गर्न दुई हप्ताको समयसीमा तोकेका छन् । बीबीसी

प्रकाशित मिति: ७ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com