काठमाडाैं । रुवी साहको हत्या आरोप लागेका लक्ष्मण पासवनले आफैँलाई आगो लगाएका छन् ।
शरीरमा आगो लगाएका अवस्थामा पासवानलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । आगोले शरीर जलेको भएकाले उनलाई उपचार गर्न अस्पताल भर्ना गरिएको छ ।
प्रहरीका अनुसार पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा जलेर घाइते भएको अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीका अनुसार हत्याका मुख्य आरोपी पासवानले आफ्नो शरीरमा आफैंले आगो लगाएको अवस्थामा भेटिएका हुन् ।
माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि बुधबार बिहान करिब साढे ६ बजे एक जना व्यक्तिले आत्मदाह गर्न लागेको सूचना पाएपछि पुगेको प्रहरीले पासवानलाई शरीर जलेर घाइते भएको अवस्थामा फेला पारेको एसपी गिरीले बताए । उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीको भनाइ छ ।
रुवी साहको हत्या गरी सुटकेसमा राखेर फालेको आरोपमा पासवान प्रहरीको खोजी सूचीमा थिए । रुवी गत शनिबार गौर बजार जान भनेर डेराबाट निस्किएकी थिइन्, तर उनको शव सुटकेसमा प्याक गरेको अवस्थामा भेटिएको थियो ।
प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार













प्रतिक्रिया