काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा लोडसेडिङ अन्त्य राजनीतिक नेतृत्वको आँट र भिजनकै परिणाम भएको बताएका छन् ।

पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय ऊर्जा संवादमा बोल्दै पूर्वप्रधानमन्त्री दाहालले गणतन्त्र स्थापनापछि बनेको पहिलो सरकारले ऊर्जा र कृषिलाई प्राथमिकता दिँदै १० वर्षमा १० हजार मेगावाट उत्पादन गर्ने लक्ष्य तय गरेको स्मरण गरे ।

advertisement

उनले दोस्रो कार्यकालमा ‘उज्यालो अभियान’मार्फत लोडसेडिङ अन्त्य गर्न जनार्दन शर्मालाई ऊर्जा मन्त्री र कुलमान घिसिङलाई प्राधिकरणको नेतृत्वमा ल्याउने निर्णय राजनीतिक आँटको उदाहरण भएको बताए ।

“यदि राजनीतिक नेतृत्वमा भिजन र जोखिम लिन सक्ने क्षमता नभएको भए, त्यो क्रान्ति सम्भव हुने थिएन,” प्रचण्डले भने ।

उनका अनुसार ऊर्जा क्षेत्रमा प्रगति रोक्ने मुख्य कारण पुराना कानुन, नियम र नौकरशाहीको परम्परागत सोच हो । उनले विद्युत् ऊर्जा विधेयक छिट्टै पारित गरी लगानीमैत्री वातावरण बनाउन सबै पक्ष एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

प्रचण्डले स्व. पोस्टबहादुर बोगटीलाई ऊर्जा क्षेत्रमा नीतिगत स्थिरता दिने इमान्दार नेता भन्दै स्मरण गरे । साथै, उनले हालको सरकारलाई सुशासन र समृद्धिको अपेक्षा गर्न नसकिने भन्दै कांग्रेस र एमालेलाई भ्रष्टाचार ढाकछोप गर्ने प्रवृत्तिका लागि आलोचना पनि गरे ।

प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com