काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अनियन्त्रित मनलाई नियन्त्रित र एकीकृत बनाउन सत्संग महत्वपूर्ण हुने बताएका छन् ।
मध्य बानेश्वरस्थित नवनिर्मित कबीर सत्संग आश्रमको भवन उद्घाटन गर्दै उनले सत्संग मानिसलाई सही मार्गमा हिँडाउन सहायक हुने बताए । ‘अनियन्त्रित मनहरुलाई नियन्त्रित र एकीकृत गर्ने माध्यम सत्संग हो,’ उनले भने, ‘धर्म र सत्कर्ममा लाग्नेहरुलाई प्रोत्साहन गर्नुपर्छ ।’
उनका अनुसार सत्संगले समाजमा सहकार्य र मिलेर बस्ने वातावरण बनाउन मद्दत गर्छ । सिंहले आश्रमले अझ धेरै मानिसलाई सत्मार्गमा अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
उपप्रधानमन्त्री सिंहले अहिलेको तनावपूर्ण जीवनशैलीले मानिसलाई दिग्भ्रमित बनाइरहेको उल्लेख गर्दै जीवनको लक्ष्य पहिचान गराउन धार्मिक तथा आध्यात्मिक संस्थाको भूमिका महत्वपूर्ण हुने बताए । उनले यस्ता संस्थाहरुलाई प्रवर्द्धन गर्नुपर्ने आवश्यकता पनि औंल्याए ।
प्रकाशित मिति: १२ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया