काठमाडौं । गायन रियालिटी शो ‘नेपाल आइडल’ सिजन ६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले जितेकी छन्।

आइतबार राति भएको ग्राण्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले उपाधि ताज पहिरिएकी हुन्। योसँगै नेपाल आइडल विजेता बन्ने दोस्रो महिला गंगा बनेकी छन्। यसअघि सिजन ३ मा आइडलले पहिलो महिला विजेता सज्जा चौलागाईं पाएको थियो।

advertisement

विजेता बनेसँगै गंगाले पुरस्कारस्वरूप उपाधि ट्रफी, नगद २५ लाख रूपैयाँसहित विभिन्न उपहार समेत जितेकी छन्।

फिनालेमा उपाधिका लागि गंगासँगै अभिनय खाति (दार्जिलिङ), बबिता थापा मगर (सिक्किम), दर्शना गान्धारी (चितवन), मृनल मानन्धर (काठमाडौं) प्रतिस्पर्धामा थिए।

यस सिजनमा बबिता थापा मगर फर्स्ट रनर अप र दर्शना गान्धारी सेकेन्ड रनरअप घोषित भए। उनीहरूले क्रमशः नगद १० लाख र ५ लाख रूपैयाँसहित विभिन्न उपहार प्राप्त गरे। दर्शकको भोटका आधारमा विजेता घोषणा गरिएको हो।

यस सिजनमा अभिनय खाति चौथो बने भने मृनल मानन्धरले पाँचौ स्थानको पुरस्कार पाइन्। उनीहरू दुवैले १ लाख रूपैयाँ पुरस्कार जिते।

नेपाल आइडलको यो सिजनमा निर्णायक मण्डलमा न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी थिए भने आसिफ शाहले उद्घोषण गरेका थिए। सुरेश पौडेल र एलेन श्रेष्ठले शोको निर्देशन गरेका हुन्।

 

प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com